चीनका राष्ट्रपतिबाट नेपालका नेताहरूले सिक्नुपर्ने कुरा

189

– निमकान्त पाण्डे

बहुचर्चित र बहुप्रतिक्षित चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सम्पन्न भएको छ । राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणलाई स्वीकार गरेर नेपाली जनताको प्रतिक्षालाई सफल तुल्याइदिएका छन् । नेपाललाई धेरै सहयोग दिने अपेक्षा गरिएको भए पनि अपेक्षा गरिएभन्दा फरक किसिमको बिर्सनै नसकिने सहयोग उपलब्ध गराएर राष्ट्रपति सी स्वदेश फर्किएका छन् । उनले व्यक्त गरेका नैतिक आदर्शका विषयहरूले नेपाली जनताको मन छोएको छ । नेपाली नेताहरूले राष्ट्रपति सीले दिनुभएका सन्देशहरूलाई नेपालका सत्तासीन पार्टीका नेताहरूले कसरी अनुशरण गर्लान् भन्ने चासो आम जनमानसमा देखिएको छ ।

चीनका राष्ट्रपतिले २३ वर्षपछि नेपालको भ्रमण गरेका कारण यस पटकको भ्रमण अलि बढी नै चर्चाको विषय बन्न पुग्यो । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतसहितको सरकार निर्माण भएको वर्तमान स्थितिमा चीनका कम्युनिष्ट पार्टीका सर्वेसर्वा नेता राष्ट्रपति सीको आगमनले निश्चय पनि महत्वपूर्ण सन्देश दिन सफल भएको छ । २३ वर्ष अगाडि चीनका राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बखत राष्ट्रपति जियाङ जमिनको भ्रमण भएको थियो । यसपटक चीनका राष्ट्रपतिको नेपाल भ्रमण नेपालमा कम्युनिष्ट पार्टीको सरकार भएका कारणले सम्भव भएको हो भनेर भ्रम फिजाउने पनि गरिएको छ । यस्तो भ्रमको खेती गर्न खोज्नुको कुनै अर्थ छैन । चीनले नेपाललाई कुन स्थानमा महत्व दिएको छ भन्ने कुरा चीनका राष्ट्राध्यक्षहरूबाट व्यक्त भएका विचारका आधारमा बुझ्न सकिन्छ ।

राष्ट्रपति सी विश्वका शक्तिशाली नेतामध्येमा पर्दछन् । जब चीनमा सांस्कृतिक क्रान्तिको लहर चलेको थियो । सी जिनपिङ त्यतिबेला १५ वर्षका थिए । चीनको एक विकट गाउँबाट उनको जीवनको यात्रा सुरु भएको हो । जुन गाउँमा उनले खेती किसानी गरेका थिए । त्यो गाउँको नाम येनान हो । येनानका बासिन्दाहरू आफ्नो क्षेत्रलाई चीनको क्रान्तिको पवित्र भूमि मान्दछन् । अर्थात चीनको कम्युनिष्ट आन्दोलनमा सीको जन्मस्थलको निकै महत्वपूर्ण स्थान छ ।

सन् १९६८ मा अध्यक्ष माओले युवालाई शहर छाडेर गाउँमा जान आह्वान गरेपछि किसान र मजदुरसँग जीवन बिताउन युवाहरूलाई अभ्यास गर्नैपर्ने अवस्था सृजना भएको थियो । त्यही बेला अहिलेका चीनका राष्ट्रपति सीले पनि धेरै कुरा गाउँबाट सिकेको सगर्व सुनाउने गर्दछन् । सीले ‘आपूm माटोको छोरा हुँ’ भनेर भन्ने गर्दछन्, यो भनाइमा देशको माटोप्रति आस्था झल्किन्छ । राष्ट्रपति सीले आफू २२ वर्षको हुँदा सबै कुरा बुझेको र आत्मविश्वास बढेको महसुस गरेको र त्यतिबेला उनी अध्यक्ष माओको सानो रातो किताब पढ्ने कार्यकर्ता रहेको स्मरण पटक—पटक गर्ने गर्दछन् ।

राष्ट्रपति सीले नेपालको भ्रमण गरेपछि उनले नेपाललाई दिएका उपहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण उपहार नैतिक शिक्षालाई मान्न सकिन्छ । कम्युनिष्ट पार्टीको सदस्य बन्नेहरू निजी सम्पतिको लोभी हुनु हुँदैन भनेर सीले महत्वपूर्ण सन्देश दिएका छन् । कम्युनिष्टहरू लोभी बन्नु हुँदैन, अनुशासित बन्नु पर्दछ भनेर पनि सीले नैतिक शिक्षा दिएका छन् । नेपालका कम्युनिष्ट नेताहरूले सीबाट व्यक्त भएका नैतिक शिक्षालाई मात्र आत्मसात गर्न सके भने नेपालको राजनीतिमा नयाँपन देखिने र देशमा व्याप्त विकृतिहरूको अन्त्य हुने पनि विश्वास गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको सरकार बनिसकेपछि न्यूनतम् कम्युनिष्ट आदर्शलाई पछ्याउन सक्नु पर्दछ । कम्युनिष्ट आदर्श भनेको राष्ट्रपति सीले नैतिक शिक्षाका रूपमा दिएका उपदेशहरू नै हुन् ।

राष्ट्रपति सीको जीवन निक्कै संघर्षमय रह्यो । उनी जन्मेको गाउँमा बिजुली बत्ती थिएन, उनी जाने गाउँमा पक्की सडक पनि थिएन । आजको हाम्रो नेपालका गाउँहरूको अवस्थासँग तुलना गर्न सकिने अवस्था राष्ट्रपति सी जन्मेको गाउँको थियो । यस्ता अनुभवहरू संगालेर कम्युनिष्ट आन्दोलनमा लागेका सी आज चीनको शक्तिशाली राष्ट्रपति बन्न पुगेका छन् र संसारको आशाको केन्द्र पनि बनेका छन् ।

चीनका राष्ट्रपति सी सरल स्वभावका व्यक्ति हुन् । उनी गम्भीर स्वभावका पनि छन् । उनलाई मजाक गर्न पनि मन पर्दैन । त्यसैले नै उनको जीवनलाई संघर्षमा उत्रिन सहयोग पुग्यो । आजको चीन विश्वको एक नम्बर बन्ने प्रतिस्पर्धामा सबैको आशाको केन्द्र बनेको छ । यसको अगुवाइ गर्ने व्यक्ति राष्ट्रपति सी आशाका केन्द्र बनेका छन् । राष्ट्रपति सीलाई सम्पत्तिको मोह छैन । तर चीनलाई विश्वकै सम्पन्न मुलुक बनाउन र चिनियाँ जनतालाई समृद्ध र सुखी बनाउन राष्ट्रपति सीले कुनै कसर बाँकी राखेका छैनन् । हाम्रो देशका नेताहरूले तानावाद र कृपावादलाई महत्व दिंदै निजी सम्पत्ति थुपार्ने होडबाजी गरिरहेका छन् । जुन कारणले गर्दा नेपाली जनमानसमा नेताहरूप्रति सम्मानभाव बन्न सकेको छैन । तर उता चीनलाई समृद्ध बनाएर पनि आफ्नो देशलाई मात्र समृद्ध बनाएर सन्तुष्टि नमिल्ने राष्ट्रपति सीको अभियानले पुष्टि गरिरहेको छ । संसारलाई जोड्ने सडक मार्गको परिकल्पनाबाटै उनी के चाहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ । राष्ट्रपति सीले आफूलाई माओत्सेतुङ्गको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न मन पराउने भएकाले उनले चीनलाई दुर्घटनामा जान नदिएर अगाडि बढाउन सक्ने विश्वास गर्न सकिन्छ ।

नेपालका नेताहरूले राष्ट्रपति सीबाट सिक्ने हो भने नेपालको विकास असम्भव छैन । सर्वप्रथम भ्रष्टाचारको अन्त्य नै नेपालको महत्वपूर्ण काम हुनेछ । त्यसपछि नेपाललाई निर्यातजन्य सामग्रीहरू उत्पादन गर्ने सवालमा सक्षम बनाउन जरुरी छ । आयातलाई घटाएर निर्यातलाई बढाउन सकियो भने समृद्धिको यात्रा प्रारम्भ हुने निश्चित छ । निर्यात बढाउनका लागि राष्ट्रपति सीले जस्तै निर्यातजन्य उत्पादन वृद्ध गर्न जरुरी छ । भ्रष्टाचारविरुद्ध निर्मम बन्दै लगनशीलता र इमान्दारिता देखाउन जरुरी छ । आगे नेताजीहरूलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here