दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेपछि आयो विप्लवको कडा चेतावनी

205

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिव विप्लवले  को राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको प्रति घोर आपत्ति जनाएको छ ।

विप्लवले बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीको वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष गर्दै  जसले रोक्न खोज्दछ ऊ नै खरानी हुने चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । महासचिव विप्लवले पक्राउ गरिएका नेता–कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गए राति केपी वलीको फासिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ । उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’

महासचिव विप्लवको विज्ञप्तिमा लेखिएको छ, ‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिन–प्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको छ । देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरङ्कुश एवम् फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here