निवर्तमान सभामुख महराको आज कोरोनरी एन्जिओग्राम गरिँदै

269

काठमाडौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र रक्तचापमा असन्तुलन (बढ्ने र घट्ने) समस्या देखिएको नर्भिक अस्पताल सुत्रले जनाएको छ ।

महराको आज शुक्रबार अपरान्ह् ३ बजे कोरोनरी एन्जिओग्राम (सिओजी) प्रक्रिया शुरु भएको छ । रक्तचापमा देखिएको असन्तुलन के कारणले भएको हो भन्ने बारेमा यो अनुसन्धान गरिने चिकित्सकहरुले जनाएका छन् । यस प्रक्रियामा हातको नाडीको नशाबाट मसिनो तार मुटुसम्म प्रवेश गराएर कतै रक्त प्रवाहमा रोकावट भए नभएको जानकारी लिन सकिने चिकित्सकहरुको सुझाव रहेको छ ।

नर्भिक अस्पतालका डा. यादव भट्ट र डा. जेपी जैसवालले महराको रक्तचापको असन्तुलनबारे अनुसन्धान गरिरहेको थाहा भएको छ ।

रोशनी शाहीले आफूमाथि जबरजस्ती करणी गरेको भनी सुरुमा आरोप लगाएपछि अनुसन्धानमा सहयोग पुगोस् भनी सभामुख पदबाट राजीनामा गरेका कृष्ण बहादुर महराका विरुद्ध उनै रोशनी शाहीले जबरजस्ती करणी गर्ने उद्योग गरेको भनी उजुरी दर्ता गरेपछि महरालाई प्रहरीले हिरासतमा लिएको थियो । महराका विरुद्ध प्रहरीले आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको बयान रोशनी शाहीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गराएकी छिन् ।

महराको सभामुखबाट राजीनामा र गिरफ्तारी पछि प्रधानमन्त्री केपी ओलीले भने महराप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै महराबाट संसदमा असहयोग भएको रहस्य खोलेका छन् । सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरेको आरोप प्रधानमन्त्री ओलीबाट लगाइएको आज प्रकाशित कान्तिपुर दैनिकमा उल्लेख छ । महरा विरुद्ध षडयन्त्र भएको आशंका सर्वत्र गरिएकै बेला प्रधानमन्त्री ओलीबाट महराप्रति असन्तुष्टि व्यक्त भएपछि सर्वत्र आश्चर्य मानिएको छ ।

महराको रक्तचापमा असन्तुलन भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् । महराको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेताहरु अस्पतालमै भेट्न पुगेका छन् । भेट गर्न जानेहरुमा नेपाली कांग्रेसका कृष्ण सिटौला लगायतका शीर्ष नेताहरु छन् भने सत्तासीन नेकपाका जनार्दन शर्मा, अग्नी शापकोटा, पम्फा भुसाल र देव गुरुङ्ग लगायतका नेताहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here