काठमाडौं / निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान भर्ने भएको छ ।
चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालय एयरलाइन्सले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कात्तिक १० गतेदेखि एयरलाइन्सले काठमाडौं –बेइजिङ सीधा उडान शुरू गर्दै छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेसनल विमानस्थलमा हिमालयले उडान शुरु गर्नेछ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ ।
बेइजिङ अन्तर्रा्ष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् ।
चीनका विभिन्न गन्तव्यमा सीधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ ।
कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे ।
उनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नेपालको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी हिमालय एयरलाइन्सको चिनियाँतर्फको शेयर स्वामित्व हालै मात्र परिवर्तन भएको छ । जम्मा ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्सको शेयर तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले खरीद गरेको हो । तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी चीन सरकारको स्वामित्वको कम्पनी हो ।
तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो । कम्पनीको ५१ प्रतिशत सेयर भने नेपालको यती वल्र्ड कम्पनीको नाममा रहेको छ ।
हिमालयले नयाँ लगानीकर्ता भित्रिएसँगै रणनीतिक योजनाका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । कम्पनीले हिमालयको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाएको नयाँ लोगो कम्पनीका अध्यक्ष झो र उपाध्यक्ष श्रेष्ठले सार्वजनिक गरे ।
उपाध्यक्ष श्रेष्ठले भने, ‘पाँच वर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौँ । यसलाई नयाँ पन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय लियौँ । संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिबिम्बित गर्नका साथै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट व्यक्त गर्न चाहन्छु ।’
सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुर (बीचमा रोकिएको) मा उडान भर्दै आएको छ । आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए–३२०–२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए–३१९ सिरिजका जहाज खरिद गर्ने योजना बनाएको छ । एसियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालय एयरलाइन्सले हाल अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान गर्दै आएको छ ।


















