काठमाडौं / गत बुधबार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित ‘द्धन्द्वकालमा यौन हिंसा पिडित युवतीको बयान-कुकुरबाट बलात्कार गराईयो’ भन्ने समाचारप्रति नेपाली सेनाले मुख खोलेको छ ।
नेपाली सेनाले उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाली सेनाले विज्ञप्ती जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तीमा भनिएको छ – ‘उल्लेखित घटनाको सम्बन्धमा तत्कालीन अवस्थामा विविध कारणहरुबाट पिडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभुति गरेको भएमा राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय मानव अधिकारसंग सम्बन्धित संघ संस्थाहरु लगायत मिडियाकर्मीहरु मार्फत उजुर गर्न सक्ने अवस्था बिद्यमान रहेको भएतापनि सो को उपयोग नगरी करीब दुई दशक पश्चात मात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्था प्रति लक्षित रहि गलत नियतबश सुनियोजित रुपमा समाचार सम्प्रेषण भएको आशंका गर्न सकिने अवस्थालाई नर्कान सकिन्न । यद्यपी घटना बारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने छ ।’
नेपाली सेनामा उक्त समाचारले नेपाली सेनाको छविमा आँच पु¥याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुगेको जनाउँदै प्रकाशित समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको समेत जनाएको छ ।
नेपाली सेनाले उपलब्ध भएका कुकुरहरुलाई समाचारमा सम्प्रेषण भए बमोजिमको कार्यको लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्य समेत नरहेको जानकारी समेत गराएको छ ।
नेपाली सेनाले बिगतको द्धन्द्वका घटनाहरु सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटक पटक प्रतिबद्धता ब्यक्त भईरहेको स्मरण गराउदैं उल्लेखित घटनाको सम्बन्धमा पिडितलाई निर्धक्कसंग उजुरी दिन आब्हान गरेको छ ।
नेपाली सेनाले प्राप्त उजुरी उपर यथोचित छानविन गरी सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध एवं तत्पर रहेको समेत जनाएको छ ।


















