उडन्ते सपना देखाउने प्रधानमन्त्रीको बानीमा सुधार नहुने नै भो !

175

–चन्द्रप्रकाश बनियाँ

फागुनमै गुराँस फुल्न थाल्यो, काफल चैैतमासमै पाक्न थाल्यो, सेतो हिमाल कालो पहाडमा रूपान्तरित हुन थाल्यो ! पछिल्ला अध्ययनहरूले प्रकृतिको विलक्षण रूपान्तरणको पुष्टि गरेका छन् । वनस्पतिहरू मध्येका ५२ प्रतिशत प्रजातिहरू माथि उक्लन थालेका छन् रे । सालिन्दै पौने तीन (२.६) मिटरका दरले वनस्पतिहरू माथि उक्लँदै छन् रे ! त्यो सबै बढ्दो तापक्रमको कारणले हो रे ! परिस्थितिको यसरी नै विकास हुँदै जाने हो र यो सिलसिला नरोकिने हो भने केही शताब्दीपछि होचा हिमालहरू अग्ला पहाडमा रूपान्तरित हुनेछन् । कैयौं मुलुकहरू हिमालविहीन हुनेछन् । हिँड्नका लागि गोडा र सोच्नका लागि मष्तिष्करूपी प्राकृतिक वरदान नपाएका वनस्पतिहरूलाई समयले नयाँ परिवेशसंग तादात्म्य मिलाउने चेष्टातिर कुदाउँदो रहेछ ।

प्राकृतिक रूपमै वनस्पतिहरूको स्थानान्तरणको कारण आवश्यकता र अनुकूलता दुवै हो । जति जति माथितिर अनुकूल वातावरण निर्माण हुँदै गयो वनस्पतिहरू माथितिर बसाईं सर्दै गए । त्यो वनस्पति जगत्को अनिवार्य आवश्यकता पनि हो । किनकि स्वभावतः माथितिर अनुकूलता बढ्दै जाँदा तलको अनुकूलता समाप्त हुँदै जान्छ । अर्थात् अस्तित्व अक्षुण्णताको लागि माथि सर्नुको विकल्प रहँदैन । मानिस त झन् प्रकृतिलाई आफ्नो नियन्त्रणमा लिने प्रयत्नमा लागेकोे प्राणी हो । उसको दिमागले नि त नयाँ नयाँ कुराहरू सोचिरहेको हुन्छ, नयाँ नयाँ प्रयोग र आविष्कार गरिरहेको हुन्छ । त्यसैले मानिस सदा चलायमान रहनु स्वाभाविक हो ।

मानिसको प्रथम उत्पत्तिस्थल अफ्रिका महाद्विप हो भनेर मानिन्छ । मानवपुर्खाको जन्म अफ्रिकामा भएता पनि अब सायद मानिसको रस्तिवस्ती हुन बाँकीे अन्टार्टिका एउटा मात्र होला । अर्थात् मानिस एकठाउँबाट अर्को ठाउँमा बसाईं सर्दै आएको छ । यतिखेर नेपालका गाउँहरू पनि बसाईंसराइको रोगबाट नराम्रोसँग संक्रमित हुन थालेका छन् । गाउँवस्तीहरू तीव्ररूपमा उजाडिँदै छन् । शहरतिर बसाईं झर्ने सिलसिला तीव्र बनेको छ । परिणामस्वरूप गाउँहरूमा एउटा नयाँ समस्या देखिएको छ– स्कूलहरूमा विद्यार्थीको अभाव ।

पञ्चायतको अवसानपछिको दश वर्षमा भएको प्रत्यक्ष देखिने विकास वा परिवर्तन भनेकै गाउँगाउँमा शिक्षा पुग्नु थियो । कुनाकन्दरासम्म स्कूलहरू खुलेका थिए । वडावडामा प्राथमिक स्कूल बनेका थिए । हरेक गाविसमा न्यूनतम एउटा माध्यमिक विद्यालय बनेको थियो । न देशको जनसंख्या घटेको छ न शिक्षाप्रतिको जनआकर्षण घटेको छ तर गाउँका स्कूलहरूले यतिखेर विद्यार्थी अभावको समस्या भोग्दै छन् । कैयौं स्कूलहरू आपसमा गाभिए । कैयौं बन्द हुने अवस्थामा छन् । कुनै कुनै स्कूलहरू विद्यार्थीविना पनि चलिरहेका छन् । अर्थात् विद्यार्थी छैनन्, स्कूल भवन छ, शिक्षकहरू छन्, शिक्षकहरूका निमित्त तलबभत्ता सरकारले पठाएकै छ ।

जनसंख्या बढ्दै जानु तर स्कूलहरूले विद्यार्थीको अभावको सामना गर्दै जानुपर्ने समस्याको कारण पनि दुरुस्तै वनस्पतिहरूको बसाईंसराइ जस्तै हो । पहिले माओवादी आन्दोलनले गाउँका धनीमानी ठालुहरूलाई खेदायो । धन र ज्यान जोगाउन उनीहरू शहर बजारतिर झरे । तिनको बसाईंसराइले शहर बजारतिर निजी स्कूलहरू थपिँदै गए । निजी स्कूलहरूको एसएलसीको रिजल्ट तुलनात्मकरूपमा राम्रो प्रमाणित भैदिनाले गाउँमा बाँकी बचेका हुनेखानेहरूलाई पनि शहर बजारतिरका निजी स्कूलहरूले तान्यो । जोसँग पर्याप्त पैतृक सम्पत्ति थिएन, उनीहरूलाई खाडीतिर कुदाउने एउटा महत्वपूर्ण कारण ‘निजी स्कूलहरू’ हुन् । छोराछोरीहरूलाई राम्रो शिक्षा दिने चाहनाले अतिरिक्त आर्यआर्जनको खाँचोको अनुभव गरायोे । देशमा वैकल्पिक रोजगारीको अभावले देश छोड्नुपर्ने बाध्यता आइलाग्योे ।

छोराछोरीलाई निजी स्कूलमा पढाउने धोकोले गाउँहरू जनशून्य बनाउँदै लगेको छ । लोग्नेहरू खाडीमा जानासाथ श्रीमतीहरू बालबच्चा च्यापेर पायक पर्ने शहर बजारतिर झर्छन् । गाउँका घरबारी बुढाबुढीले कुर्छन् । बुढाबुढी नभए घर थोत्रिन्छन्, खेतीबारी बाँझै बस्छ । कज्याउने मान्छे नै हुँदैन । ठूलो संख्यामा युवाशक्ति विदेशिनाले सरकारले चलाएको परिवार नियोजनको योजना भने सफल भएजस्तो देखिएको छ । जनसंख्या वृद्धिदर घटेको छ । तर उसै पनि उत्पादकत्व क्षमता कम रहेको नेपालको पहाडी जमिन कामदारको अभावमा बाँझै बस्न थालेपछि देशको कुल उत्पादनमा कमी आउनु स्वाभाविक भयो । गाउँमा जन्तीमलामी नपाउने अवस्था सिर्जना भएको छ । गाउँका खेतबारी बाँझै बस्न थालेका छन् । स्कूलहरू बन्द हुन थालेका छन् । यो समस्यातिर सायद सरकारको ध्यान पुगेकै छैन । त्यसैले हाम्रा श्रममन्त्री विदेशतिर नयाँ नयाँ रोजगारीका गन्तव्य खोज्नमै व्यस्त छन् ।

एकताका हाम्रा प्रधानमन्त्रीले चुच्चे रेल र पानीजहाजका किस्सा सुनाएर दुनियाँलाई मनोरञ्जन दिँदै हिँड्थे । कमसेकम आफ्नो कार्यकालमा आफूले बोेलेका योजनाको सुरुवातसम्म पनि हुन सक्दैन भन्ने यथार्थबोध भयो कि त्यस्ता हावादारी गफहरू सुनिन छोडेका छन् । रेल र पानीजहाज देशमा आइपुग्दा आफ्नो भौतिक अस्तित्व समाप्त भैसक्नेछ भन्ने आत्मबोध भएकोले होला आजकाल प्रधानमन्त्रीले रेल र पानीजहाजको टिकट काट्न आउने सार्वजनिक निम्तो दिँदै हिँड्न छोडेका छन् । तर नानीदेखि लागेको बानी भनेजस्तो मानिसको भीड देख्नासाथ अतिउत्साहित हुनगई विवेक गुमाउने बानी भने बेलाकुबेला प्रकट हुँदै गर्छ । यही हप्ताको सुरुतिर थानकोट–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्ने सन्दर्भमा चन्द्रागिरि डाँडो छेडेर चित्लाङ निस्कने सुरुङमार्गको सपना देखाएछन् ।

थानकोट–सिस्नेखोलाको सुरुङमार्ग बन्ने हो कि होइन ? शिलान्यास गर्नासाथ योजना बन्छ भन्ने प्रत्याभूति नहुँदो रहेछ । मेलम्चीजस्तै दशकौंसम्म योजना तन्कने पो हो कि ? समयमै बनिहालेछ भने त्यसको उद्घाटन गर्ने बेलासम्म प्रधानमन्त्री पद गइसकेको हुनेछ । त्यही एउटा सुरुङ बनाउँदा लागेको ऋण तिर्न सकिने हो कि होइन । एउटा साहुको ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई अर्को साहुले पत्याउने छैन । सुरुङमार्ग निकै महँगो पर्दो रहेछ । महँगो नै भए पनि थानकोट–सिस्नेखोलाको सुरुङको आर्थिक सामाजिक महत्व छ । त्यसले यात्राको समय घटाउने मात्र होइन, यात्राको जोखिम पनि न्यून गर्नेछ । ठूलो संख्यामा मानिसलाई अनिवार्य आउजाउमा सहुलियत पु¥याउने छ । ढुवानी रकम कम गरिदिनेछ । तर सुरुङमार्ग बनेछ भने पनि चित्लाङ आउजाउको खास महत्व के रहला र ? ऋण लिएर चित्लाङसम्म सुरुङमार्ग बनाउनुको उति साह्रो औचित्य रहने छैन ।

हो, मुलुक निर्माणको सपना देख्नुपर्छ, देखाउनुपर्छ । तर सपनाहरूको औचित्य हेरिकन प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ । सपना नै देखाउनु पर्ने हो भने कालीगण्डकी डाइभर्सनको सपना देखाउनु बरु ! साहुहरूले ऋण पत्याएछन् भने बहुउद्देश्यीय महत्वको योजना बनाउँदा लाभकारी हुन्थ्यो होला । विकासको प्रतिफल देश र समाजले अनुभूत गर्दो हो । त्यही एउटा योजनाले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी समेतका तीन जिल्ला सिञ्चित हुन्थे । त्यही एउटा योजनाले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सघाउँथ्यो । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि हुँदो हो । सपना नै देख्नु देखाउनुपर्ने हो भने दीर्घकालीन लाभको योजनाको पो देखाउनु । बहुमुखी उपयोगका योजनाको पो देखाउनु । हुन त पवित्र पानीमा नुहाएर पाप पखाल्नुपर्ने भएकोले ‘कालीगण्डकी डाइभर्सन योजना कदापि कार्यान्वयन गर्न दिन्न’ भनेर गण्डकी प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक घोषणा गरेका हुनाले प्रधानमन्त्री बोल्न नमिलेको पो होला कि ? भैसीको पूजा गर्न समेत अघि सर्ने नेता जन्माएको कम्युनिष्ट पार्टीका अध्यक्षले कसरी धर्म नासिने योजनाको सपना देख्न देखाउने हिम्मत गरुन् त बिचरा !

समय हेरेर मूक र अचल वनस्पतिहरूले पनि ठाम सर्दा रहेछन् । समाजको समस्या देख्नेबुझ्ने क्षमता हुने मानिसले त्यही अनुसारको विकास अभियान चलाउनुपर्ने होइन र ? गाउँ रित्याउनेगरी हुन थालेको निजी शिक्षाको लगानी समाप्त गर्ने हो भने पलायन भएको आधा जनसंख्या गाउँ फर्कनेथ्यो । खेती गर्दा लाग्ने खर्च कृषकलाई निब्र्याजी ऋण उपलब्ध गराउने र कृषकको उत्पादन सरकारले किनिदिने व्यवस्था गरिदिने हो भने खाडीतिर लाग्ने अर्को आधा जनसंख्या रोकिँदो हो । तत्काल मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने ससाना कुरातिर सरकारकको ध्यान नपुग्ने तर कम्तीमा पनि २० वर्ष निर्माणमै खर्च हुने हाइड्याम बनाएर पानीजहाज चलाउनेजस्तो उडन्ते सपन्ना देख्ने नेताको बानीमा कहिले सुधार आउने होला खोइ ? वनस्पतिहरू पचास वर्षपछिकोे सम्भावना बुझेर माथि सर्न थालेका होइनन् । तत्कालको अनुकूल वातावरणले आकर्षित भएका हुन् । वनस्पतिको चरित्रबाट मानिसले सिक्न सक्तैन र ? सुदूर स्थानको यात्रामा निस्केको मान्छेले भुईंतिर हेर्न बिस्र्यो भने दुर्घटनामा पर्छ भन्ने बुझ्नु पर्दैन र ? –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here