–प्रीति रमण
मैले माथि शीर्षकका शब्दहरू लेख्दै गर्दा मेरो मनमा महिला मानिस हुन् कि वस्तु हुन् भन्ने प्रश्न उठाएर शुरु गरेकी छु । महिलाहरू साँच्चिकै मानिस हुन् भने किन पुरुषहरूले महिलालाई वस्तुसरह उपयोग गर्न चाहन्छन् ? के यसमा महिलाहरूको पनि कमजोरी छ ? मैले उत्तर पाउन सकिरहेकी छैन । महिलाविना पुरुषको जीवन चल्नै सक्दैन । त्यसैले महिला मानिस हुन् वा पुरुषका लागि जीवन चलाउने वस्तु ? महिला वस्तु होइनन् भन्ने प्रमाणित गर्न महिला स्वयम् जागृत हुनुपर्ने अवस्था देखिन्छ । महिलाहरू पुरुषका निम्ति मात्र होइन, देशका निम्ति र संसार निर्माण गर्ने शक्तिका रूपमा स्थापित हुन सक्छौं भन्ने हिम्मतका साथ अगाडि बढ्न जरुरी छ जस्तो लाग्छ । यति गर्न नसक्नु नै महिलाहरूको कमजोरी हो भन्ने कुरालाई सबै महिलाहरूले स्वीकार गर्नैपर्छ ।
महिलाहरू पुरुषहरूबाट प्रताडित छन् । यो सबैले बुझेको कुरा हो । पुरुषहरूले महिलामाथि हिंसा गर्छन् । महिलामाथि हुने हिंसाका कारणमध्ये एक दाइजो प्रथा पनि हो । त्यसैले महिला दाइजो प्राप्त गर्ने साधन पनि हो भन्ने कुरा आजको पुरुष समाजले बुझेको जस्तो लाग्छ । विश्वका धेरै देशहरूमा यो एक गम्भीर समस्याको रूपमा देखिदै आएको छ । महिला हकहित र अधिकारका जति धेरै कुरा ग¥यो त्यत्ति नै धेरै महिला माथि अन्याय र अत्याचार बढ्दै गइरहेको पाइन्छ । अझ यो दाइजो प्रथाका कारण हुने हिंसा दिनहुँ गरेको देख्न सुन्न पाइन्छ । हालैमात्र विराटनगरमा दाइजोका कारण दुई जना महिलाको ज्यान गएको थियो । दाइजोका कारण महिलाले हिंसाको शिकार बन्दै जानुपरेको छ । पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिला दिनप्रतिदिन हिंसाबाट प्रताडित हुँदै गइरहेका छन् । यसको रोकथामका लागि सशक्तीकरणका कुरा पनि उठिरहेको पाइन्छ, तर जति गरेपनि महिलाहरू शारीरिक तथा मानसिक रूपबाट समाजमा पीडित भइरहेका देखिन्छन् । आफ्नै घर परिवारका पुरुष सदस्यहरूबाटै लैङ्गिक हिंसाको शिकार भएका छन् महिलाहरू ।
महिलाले दाइजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जबर्जस्ती करणी, वैैवाहिक बलात्कार, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनाता करणी, वैदेशिक रोजगारीको नाममा ठगी तथा अत्यधिक काम, यौन दुरूत्साहन र यौन शोषणका कारण महिलाहरू हिंसाका शिकार भइरहेका छन् ।
दाइजो प्रथा तथा महिला हिंसाका घटना निर्मूल पार्न पुरुष जनचेतना जागरण हुन पनि जरुरी देखिन्छ । महिला हिंसाका घटनामा पुरुषहरू नै कारण हुने भएकाले हरेक पुरुष सचेत भएमात्र महिला हिंसाका घटनामा कमी आउन सक्ने देखिन्छ । पुरुष सचेतनाको एउटा उदाहरण हालैमात्र सञ्चारमाध्यममा सार्वजनिक भएको छ । सामाजिक अपराधको रूपमा पनि मानिएको दाइजो प्रथालाई पुरुषहरूबाटै रूपान्तरित गर्न प्रयास भएको रूपमा यो घटनाको व्यापक प्रचार र अनुसरण पनि आवश्यक देखिन्छ ।
छोरीलाई परिवारको बोझ मानेर पुरुषलाई सम्पत्ति दिइने दाइजो प्रथाको अन्त्य गर्दै छोरीका विवाहमा पिताले लेखेका ५ वटा पुस्तक दाइजोका रूपमा दिएका छन् । बुटवल तिलोत्तमा–८, मणिग्राम ४ शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारी पराजुली तथा श्रीमती गीता पराजुलीले आफ्नी छोरी अस्मिता पराजुलीको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद् सोमप्रसाद पाण्डे तथा श्रीमती स्व. रुक्मिणी पाण्डेका पुत्र अचलराज पाण्डेकाबीच सुसम्पन्न विवाह समारोहमा दाइजोरहित कार्यक्रममा फ्रेममा सजाइएको कविता र पुस्तक दाइजो दिएको समाचारले सञ्चारमाध्यमहरूमा खासै महत्व भने पाएको छैन । तर यो समाचार राज्यस्तरबाटै व्यापक रूपमा प्रचार हुनु आवश्यक छ जस्तो मलाई लाग्छ ।
उक्त विवाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो नदिई वधूका पिताले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी आफूलिखित पुस्तक उपहार दिएका थिए । समाजमा हुने हिंसाका घटनामा दाइजोका कारण पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ । हाम्रो समाजमा हिंसाको शिकार हुन पुगेका महिलाहरूले आफूमाथिको यातनालाई सार्वजनिक समेत गर्न सकेका पाइँदैनन् । समाजमा अपहेलित हुनुपर्ने त्रासले गर्दा महिलाहरू यातनालाई सहेर बसेका हुन्छन् । त्यस्ता महिलाहरूको पीडा समाजमा लाखौंको संख्यामा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
पुरुषहरूबाट शिकार हुन पुगेका पीडित महिलाहरू न्यायको लागि जति नै दौडधूप गरे पनि अथवा जतिसुकै उच्च तहमा आवाज पु¥याए पनि न्याय नपाएको गुनासो सुन्ने गरिन्छ । न्यायिक निकायले समेत पीडितलाई न्याय दिन सकिरहेको पाइँदैन । कनुनी प्रावधानहरूमा महिला हकहित अधिकार तथा महिला हिंसाका घटनाबारे कारवाहीको व्यवस्था रहेको भएता पनि पीडितहरूले न्याय पाउन नसक्नुमा न्यायिक निकायकै कमजोरी स्पष्ट हुन्छ । कानुन भए पनि कानुन प्रभावकारी बन्न सकिरहेको छैन । दिनहुँ महिलाको हत्या हुने गरेका घटना समाचार बनिरहेका छन्, त्यस्ता समाचारले सञ्चारमाध्यममा पनि प्राथमिकता पाएको देख्न सकिन्छ, तर हत्यारा कानुनको कठघरामा आउन सकेको पाइँदैन । हिंसा र बलात्कारका घटनाविरुद्ध सामाजिक सञ्जालमा बोल्दा समेत ज्यान मार्नेसम्मका चेतावनी आउने गरेको सुनिन्छ । यस्ता घटना हाम्रो समाजमा दिनहुँ भइरहेका छन् । यस्ता घटनामा कानुनले मात्र केही गर्न नसक्ने हुँदा जनस्तरमा नै सचेतना हुनु आवश्यक छ । सचेतनाका लागि शिक्षा अनिवार्य शर्त हो । राज्यस्तरबाटै महिलाहरू वस्तु होइनन्, सृष्टिकर्ता हुन् भन्ने चेतना जागरण गराउन अभियानको थालनी जरुरी छ । राष्ट्रपति नै महिला भएको हाम्रो देशमा सरकारी स्तरबाटै यस्तो अभियानको पहल हुने हो भने जनस्तरमा त्यसको प्रभाव पर्ने विश्वास गर्न सकिन्छ । –[email protected] जनधारणा साप्ताहिक

















