एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट बाहिरिएका डेमोक्र्याटिक नेता बेटो ओ’रोर्कको उपहास गरेका छन्।
डेमोक्र्याटिक नेता बेटोले स्थानीय समय अनुसार शुक्रबार अबेर राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट आफू बाहिरिएको घोषणा गरेका थिए। त्यसको केही घण्टापछि ट्रम्पले तुच्छ भाषाको प्रयोग गरेर बेटोको उपहास गरेका हुन्। ट्रम्पले अति नै अभद्र या असभ्य भाषाको प्रयोग गरेर बेटोको निर्णयको मजाक उडाएका हुन्। बेटोको ‘अन्त्य कुकुरले जस्तै’ रहेको ट्रम्पले जनाएका छन्। टेक्सासका पूर्व कंग्रेसम्यान ट्रम्पका कडा आलोचक हुन्। गएको अगस्टमा टेक्सासको एल पासोमा भएको अन्धाधुन्ध गोली प्रहारको घटनापछि थप कडा रुपमा आलोचना गर्न थालेका थिए बेटोले ट्रम्पको।
आप्रवासी विरोधी ट्रम्पको अभिव्यक्तिकै कारण सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली प्रहार भएको बेटोले जनाएका थिए।उनले शुक्रबार आफ्नो अभियानसँग सफल रुपमा अघि बढ्नका लागि स्रोत नरहेको बताउँदै होडबाट बाहिरिएको बताएका थिए। मिसिसिपीमा भएको र्यालीमा ट्रम्पले बेटोलाई ‘गरिब, दयनीय व्यक्ति’ रुपमा चित्रित गरेका छन्।
ट्रम्पले पूर्वउपराष्ट्रपति तथा उम्मेदवारीको होडमा अगाडि रहेका जो बाइडेनलाई मानसिक रुपमा असक्षम रहेको भन्दै उनको प्रस्तुति पछिल्लो समय नराम्रोसँग खस्किँदै गएको जनाएका छन्।


















