पोखरा / बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणमा रहेका बेला पर्यटकीय सहर पोखरा घुम्न आएका छन् । नेपाल आर्मीको हेलीकोप्टरबाट बिहीबार मध्यान्ह पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका छन् ।
पोखराको फेवातालमा मोटरबोटबाट सयर गरेका हुन् । पोखराबाट देखिने हिमाश्रृंखलाको दृश्यावलोकन गर्दै उनी रुपाकोट पुगेर बेगनास ताल र रुपातालको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।पोखरा विमास्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिकर शेरचन, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदलगायतले स्वागत गरेका थिए ।
बंगलादेशका राष्ट्रपति हमिदले शुक्रबार बिहान ११ बजे काठमाडौंको चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी शुक्रबार करिब पाँच बजे स्वदेश फर्किने छन् ।

















