काठमाडौं / त्रिभुवन शिक्षण अस्पतालको दृष्टि विशेषज्ञहरुले फिलोसोफिस्का नेपालका बालबालिकाको निः शुल्क आँखा शिविरको आयोजना गरेको छ ।
अनाथ बालबालिकाहरुको रेखदेख गर्दै आएको र कक्षा ४ सम्म अध्यापन गर्दै आएको फिलोसोफिस्का नेपालका ४६ जना बालबालिकाहरुको नेपाल अप्टोमेट्री स्टुडेन्ड्स सोसाइटीको प्राविधिक सहयोगमा दृष्टि जाँच गरिएको फिलोसोफिस्का नेपालका कोर्डिनेटर अशोकराज पाण्डेले जनाए ।
कोर्डिनेटर पाण्डेका अनुसार समस्या देखिएका बालबालिकाहरुको थप उपचार शिक्षण अस्पतालमै गरिनेछ । संस्थाका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्न पाउँदा निकै गौरवान्तित महसुस भएको सुनाए ।
समाजका विभिन्न तह र तप्काको सहयोगले संस्था चलेको र आगामी दिनमा पनि सहयोग पाईरहने अपेक्षा गरिएको उनले सुनाए ।
वि.सं. २०६९ सालमा स्थापना भएको फिलोसोफिस्का नेपालले सडक बालबालिका र अभिभावकबिहिन अनाथ बालबालिकाहरुको निःशुल्क अध्यापन, रेखदेख र नियमित स्वास्थ्य जाँच गराउँदै आएको छ ।


















