-निशा तामङ
काठमाडौं चारैतिर हरियाली पहाडहरूले ढाकिएको सुन्दर भूगोल भएको शहर हो । शहरका बीचमा बग्ने बाग्मती, विष्णुमती नदी र अन्य स-साना खोलाहरूले यसलाई सुन्दर बनाउन अझ ठूलो भूमिका निर्वाह गरेको छ । तर, दुर्भाग्यवश भन्नुपर्छ यति सुन्दर शहरलाई हामीले दिन प्रतिदिन कुरूप पार्दै गएका छौं । यहाँको हरियाली मास्ने र नदीनालामा ढल हालेर दुर्गन्धित पार्ने काम हामीले गर्दै आएका छौं । सोही कारण कुनै बेलाको अति सुन्दर यो शहर अहिले विश्वकै प्रदूषित शहरहरूको सूचीमा अग्रस्थानमा देखिँदै आएको छ ।
काठमाडौं एउटा शहर मात्र नभएर यो नेपालको राजधानी पनि हो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँ छ । त्यसकारण विदेशीहरू नेपाल आउँदा सर्वप्रथम काठमाडौंमा नै ओर्लने गर्छन् । तर, काठमाडौं शहरको दुरवस्थाका कारण उनीहरूलाई पहिलो पटक नै नेपालप्रति नकारात्मक भाव पैदा हुने गर्दछ । काठमाडौं दिन प्रतिदिन कुरूप र प्रदूषित बन्दै गइरहेको छ । यहाँ विकासका नाममा सडक भत्काउने र रुख काट्ने काम पनि भइरहेकै पाइन्छ । हालै मात्र काठमाडौंको सडकमा रहेका रुखहरू रिङरोड सडक निर्माण र विकास गर्ने काममा कटान गर्न थालिएको छ । सडकमा भइरहेका रुखहरू काटे पनि वृक्षरोपण भने विरलै मात्र हुने गरेको छ । हुर्किसकेका रुखहरू कटान गरेर बिरुवाहरू रोपेर कहिले ठूलो हुने हो र कहिले धूलो नियन्त्रण हुने हो ? यसतर्फ भने सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी छ ।
सरकारले भएका रुख बिरुवाहरूलाई संरक्षण गर्न सकिरहेको छैन । अनि विश्वका विशिष्ट पाहुना आउँदा भने रातारात हरियाली बनाउन अनेक नाटक गरेको पनि देखिन्छ । विशिष्ट पाहुना हुन्जेलसम्म सडकभरि गमलामा फूल राखेर सडक क्षेत्र सुन्दर रहेको भ्रम छर्ने गरिन्छ । सफा, चिटिक्क र रंगिचंगी देखिएका काठमाडौंका सडक पाहुना स्वदेश फर्किएसँगै सबै उस्तै हुने गरेका छन् ।
हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि काठमाडौंको सडकलाई रातारात हरियाली बनाइएको थियो । तीनकुनेमा खाली जग्गाको डिल उकासेर दुबो र बिरुवा रोपेर हरियाली देखाइएको थियो । झण्डै २५ लाख रूपैयाँ लगानी गरेर बनाइएको सो स्थानमा चिनियाँ राष्ट्रपति स्वदेश फिर्ती भएसंगै हरियाली पनि हराएको छ । सरकारले रातारात हरियाली बनाएको तीनकुनेको उकालो डाँडामा रोपिएका बिरुवाहरूको संरक्षणमा कुनै चासो दिएको पाइँदैन । चिनियाँ राष्ट्रपति राजकीय भ्रमणमा नेपाल हुञ्जेलसम्मका लागि केही दिन पानी हालियो तर फेरि वास्ता गरिएको छैन ।
चिनियाँ राष्ट्रपतिपश्चात् नेपाल भ्रमण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई पनि उसैगरी सडकमा कृत्रिम बोटबिरुवा राखेर हरियाली देखाउने काम भयो । सो क्रममा चोक चोकमा फोटाहरू टाँसिएका थिए । तर बंगलादेशका राष्ट्रपति शुक्रबार स्वदेश फर्किनासाथ काठमाडौंका सडक फेरि पुरानै अवस्थामा फर्किए ।
अहिले नेपालको चलन नै पाहुना आउने भएपछि पोलपिच्छे विशिष्ट पाहुना र सरकारका तस्वीर टाँसिने बनेको छ । साथै, चारैतिर कृत्रिम बोटबिरुवा राख्ने गरिन्छ । तर, यसलाई दीर्घकालीन गर्न सकिन्छ र हरेक पटक लाखौं रूपैयाँ खर्च गर्न पर्दैन भन्ने तर्फ भने सरकारको ध्यान जान सकेको छैन । विशिष्ट पाउना आँदा सडकको मेन रुटमै पर्ने तीनकुने सडकमा सरकारले वृक्षारोपण गरेर हरियाली बनाउन सक्छ । लाखौं खर्च गरेर हरियाली देखाउनका लागि रातारात रोपिएको बिरुवाहरूको संरक्षण गरेको भए पनि आज तीनकुने हरियाली बन्ने थियो । यसतर्फ पनि जिम्मेवार निकायको ध्यानाकर्षण हुन सकेको छैन ।
सरकारले यसरी विदेशी पाहुना आउँदा मात्र देखावटी सौन्दर्य देखाउनु भन्दा पनि काठमाडौंका सडकमा बोटबिरुवा रोपेर संरक्षणमै ध्यान दिनु जरुरी छ । बोटबिरुवाको संरक्षण र काठमाडौंको सडकमा उड्ने धूलो नियन्त्रण गर्न सके सरकारले कुनै देखावटी प्रवृत्ति अपनाउनु पर्दैन । काठमाडौं सडक प्राकृतिक रूपमै सुन्दर र हरियाली रहिरहनेछ । विदेशी पाहुना आउँदा पनि हामी सबै नेपालीले काठमाडौं शहरमा हरियाली वातावरण देख्न सक्नेछौं । यसतर्फ सरकारले ध्यान दिनु जरुरी रहेको छ । –[email protected] जनधारणा साप्ताहिक


















