इतिहास बोकेको चिया कारखाना संकटमा

342

इलाम र चिया उद्योगको इतिहास बोकेको इलामको १ सय ४१ वर्ष पुरानो चिया उद्योगको अस्तित्व संकटमा पर्न लागेको भन्दै इलामका अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय सरकारलाई उद्योग संरक्षणको जिम्मा दिनसमेत माग गरेका छन्।

देशकै पहिलो ऐतिहासिक उद्योगका रूपमा रहेको इलाम चिया कारखानालाई पहिचानका रूपमा स्थापना गरी संरक्षणका लागि पहल नभएको भन्दै म्युजियमका रूपमा विकास गर्नसमेत माग गरे। चौथो उद्योग दिवस २०७६ का अवसरमा ऐतिहासिक कारखानामा आयोजित कार्यक्रमका वक्ताले पटक–पटक कुरा उठाउँदा सरकारले देशकै धरोहरको संरक्षणमा चासो नदिएको गुनासोसमेत गरेका छन्।

इलामका अग्रज तथा पूर्वप्राध्यापक इतिहासविद् युद्धप्रसाद बैद्य कारखानाको संरक्षणमा जनस्तरबाट थप आवाज उठ्नुपर्ने जनाएका छन्। ‘यो हाम्रो पहिचान हो, हाम्रो सान पनि हो’, बैद्यले भने, ‘यो कारखानाको संरक्षणको विषय सरकारको कानसम्म पुग्ने गरी उठाउनु जरुरी छ।’ इलामका तत्कालीन बडाहाकिम कर्णेल गजराजसिंह थापाले नेपालमा नै पहिलोपटक विक्रम सम्वत् १९२० सालमा चिया बगान लगाएर उनले नै १९३५ सालमा चिया प्रशोधन कारखानाको सुरुवात गरेका थिए।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले कारखाना र चिया वगानको संरक्षणले इलामको पर्यटन विकासमा टेवा पुग्ने बताए। इलाम नगरपालिकाका मेयर महेश बस्नेतले नगरपालिकाले कारखानालाई म्युजियम र चिया वगानलाई चिया अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सरकालाई अनुरोध गरे पनि वातावरण नबनेको जनाए ।

नगरले उद्योग स्थापना गर्ने कर्णेल गजराजसिंह थापाको मुर्ति स्थापनाको पहल थालेको छ। ऐतिहासिक चिया बगानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरी उद्योगलाई म्युजियम बनाउने बस्नेतले जानकारी दिए। इलाम चिया बगानसमेत सरकारी स्वामित्वमा रहेका सात चिया बगान सरकारले ५० वर्षका लागि संघाई ग्रुपलाई ठेक्कामा दिएको छ। सदरमुकामको चिया उद्योग स्थापनासँगै इलाममा चिया विस्तार भई हाल २ सय १६ वटा चिया उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता रहेको समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here