यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’  कुलमानलाई 

323

काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएबापत घिसिङलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको नास्टले जानकारी दिएको छ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा घिसिङलाई पुरस्कृत गरेका हुन्।

नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ। नास्टले वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो।

नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो।

कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे।

कुलमान २०७३ को भदौमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले व्यहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here