जाडो बढेसँगै लाग्ने रुघाखोकी तथा ज्वरोबाट बच्ने उपाय

616

जाडो बढेसँगै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन्।

शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्न थाल्छन् । भाइरल इन्फेक्सन भएमा श्वासप्रश्वासमा समस्या आउने तथा रोगसँग लड्न नसक्ने बिरामीहरूलाई कब्जियत तथा झाडापखालासमेत लाग्न सक्छ । समयमै निको भएन भने निमोनिया पनि हुनसक्छ । त्यसैले मौसमी रुघाखोकी भनेर लापरवाही गर्नुभन्दा पनि समयमै यसको उपचार गराउन जरुरी छ ।

यस प्रकारको रुघाखोकी तथा ज्वरोबाट बच्नका लागि रोगबाट ग्रषित भएका बिरामी तथा रोगि व्यक्तिहरूवाट सकभर टाढै बस्ने गर्नुपर्छ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाने साथै बाहिर निस्किँदा मास्कको प्रयोग गर्नुपर्छ ।

रुघा लागेको अवस्थामा नाक, मुख छोप्दा प्रयोग भएका रुमाललाई राम्ररी धोएर मात्र पुनः प्रयोग गर्ने तथा अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने । यसले अझ संक्रमण बढाउन सक्छ । खाना खानुअघि र शौचायालाको प्रयोग गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।

न्यानो लुगा लगाउने अनि चिसो कुराबाट टाढै रहने, पोषिलो खाने कुरा र झोल पदार्थ प्रशस्त मात्रामा खानुपर्छ । पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने हुँदा सकभर जाडोमा सफा उमालेको पानी खानु नै उचित हुनेगर्छ । रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्नका लागि वर्षमा एकपटक खोप लगाउन चिकित्सकहरू सुझाव दिन्छन् । खोप लगाएपछि रुघाखोकी लाग्न नदिने भन्ने होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्ने गर्छ ।

सामान्य भाइरल ज्वरो आउँदा तातो र झोल भएको खाना खाँदा र प्रशस्त आराम गर्दा फाइदा गर्छ । तर, केही दिनमा पनि निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ, नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here