काठमाडौं / सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धनकुटाका खेलाडी र प्रशिक्षकलाई आज नगदसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले सागको पुरुष फुटबलमा स्वर्ण जित्ने नेपाली टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको हो । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । कुशल १०औं सागमा करातेका स्वर्ण विजेता पनि हुन् ।
उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापाले जनही नगद २५ हजारसहित सम्मान गरे । कार्यक्रममा थापाले सीमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइ दिए ।
उनले पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको जनाए । प्रतिष्ठानले विगतमा खेलकुदको जागरण र विकासका लागि सहयोग गर्दै आएकोमा भविष्यमा पनि सहयोगले निरन्तरता पाउने थापाले प्रतिबद्धता जनाए । करातो प्रशिक्षक श्रेष्ठले गृहजिल्लाको नाममा पाएको सम्मानको विशेष महत्व हुने जनाए ।


















