काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बुधबार बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
यसअघि मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ उनको भनाइ छ ।
मौसमविद् पोखरेलका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६।५, धनकुटा ६.५ र ओखलढुंगाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।


















