टोपी दिवस किन मनाउने ?

246
– राज्यलक्ष्मी शाक्य

नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । केही वर्षयता अंग्रेजी नयाँ वर्षको सट्टा टोपी दिवस मनाउनु उपयुक्त हुने भन्दै यो दिवस मनाउन थालिएको हो । यो दिवसमा अहिले विस्तारै नेपालीहरू आकर्षित हुन थालेका छन् । साथै, टोपी दिवसका दिन युवायुवतीको उपस्थिति बढ्दो देखिन्छ । साथै, यो चलन देशभर फैलिने क्रममा पनि छ । यो दिवसका अवसरमा देशका विभिन्न स्थानमा टोपी लगाएर ¥याली आयोजना गरेको पाइन्छ । जसलाई सकारात्मक रूपमा लिन सकिन्छ । टोपी दिवस मनाउनुको एउटा अर्थ आफ्नै संस्कृति तथा संस्कारको संरक्षणको रूपमा लिन सकिन्छ । किनभने नेपालीहरूले धेरै पहिले आफ्नो शिरवस्त्रको रूपमा टोपी लगाउँदै आएका छन् । तर, पछिल्लो समय टोपी लगाउने चलन विशेष सभासमारोह वा कार्यक्रममा मात्र सीमित भएको छ । वृद्धहरूले टोपी लगाइरहे पनि युवायुवतीले भने कमै मात्र टोपी लगाउने गरेका छन् । यसकार आफ्नो संस्कृतिको रूपमा रहेको टोपी लगाउने चलन कतै विस्तारै हराउने हो कि भन्ने आशंका पनि बढ्दै गएको थियो । तर, स्वस्फूर्त रूपमा जनवरी १ मा टोपी दिवस मनाउनाले टोपीप्रतिको आकर्षण बढेको छ । साथै, युवापुस्तालाई टोपीको महत्व र हाम्रो पहिचान बारे पनि थोरबहुत जानकारी हुन थालेको छ ।

पछिल्लो समय नेपालमा विदेशी संस्कृति फैलिँदो क्रममा छ । टेलिभिजन, सामाजिक सञ्जाल र चलचित्र लगायत माध्यमबाट भारतीय र पश्चिमा संस्कृतिहरू भित्रिने क्रम बढेको छ । नेपालीहरूले आफ्नै संस्कार र संस्कृतिलाई भुल्ने र विदेशी संस्कारलाई अँगाल्ने प्रचलन कदापि राम्रो होइन । यसले हाम्रो पहिचान र अस्तित्वलाई नै धरापमा परेको छ । यही क्रम रहेमा भोलिका पुस्ताले आफ्नो संस्कार र संस्कृति नै लोप भएको पाउनेछन् । यदि हामीले विदेशी पोसाक, संस्कार र संस्कृतिलाई अवलम्बन गर्ने हो भने हाम्रो पहिचान त हराउने नै छ, साथै विदेशी पर्यटकलाई देखाउने हाम्रो मौलिकता पनि सिद्धिनेछ । यो दिवसका अवसरमा विशेषगरी ढाका टोपी लगाउने गरिन्छ । ढाकाको कपडाबाट बनेको परम्परागतरूपमा पुरूषहरूले लगाउने पहिरन टोपी हो । यो मुख्य रूपले नेपालको पहाडी भूभागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायजसो ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । आजकल महिलाहरूले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाकाटोपीलाई देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ ।

नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा (खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ, अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ । उहिलेका जमानामा घरेलु धागा बाट मुख टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको व्यापकता हुँदै जाँदा धाका टोपीलाइ नै आजकाल ढाका टोपी भनिन्छ, जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ र नेपाली टोपी लगाउने दिन भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरूपमा जनसहभागिता सहित सञ्चारमाध्यमहरूमा चर्चा हुने गर्दछ । विगत केही वर्षदेखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत बिभिन्न समुह, सस्था र व्यक्तिहरूले देश तथा विदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् । नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति (जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो । आऔं सबै मिलेर यो दिवसलाई अझै सफल पारौं । –[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here