काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् ।
रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको छ । ‘अब सिरियल रहुञ्जेल यसैमा काम गर्छु’ रुपाखेतीले भने, ‘अब सिरियललाई युवा दर्शकलाई समेत रुचिकर हुने ढंगले अघि बढाउँछौं ।’
रुपाखेती दोस्रोपटक सिरियलमा जोडिएका हुन् । यसअघि उनले ८० भागसम्म निर्देशन गरेका थिए । त्यसपछि उनले ‘झ्यानाकुटी’ र ‘हाकाहाकी’ सिरियल ल्याए ।
यो सिरियलमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, दिवाकर भण्डारी, उत्तम केसी, सुरेन्द्र केसी, साया भण्डारी, यादव थापा लगायतको अभिनय हुँदै आएको छ । रुपाखेती चाहिँ घरज्वाइँको भूमिकामा देखिँदै आएका छन् । ‘मेरी बास्सै’ हरेक मंगलबार राती साढे ८ बजेदेखि युट्युब च्यानलमा आउने गरेको छ ।

















