एजेन्सी / युरोपियन युनियनले मध्यपूर्वमा सैन्य आक्रमणबाट सिर्जना भएको तनावलाई बन्द गर्न आग्रह गरेका छन् । युरोपियन आयोगकी अध्यक्ष उर्सुलु भोन डेर लियनले आज बुधबार हतियारको प्रयोग तत्कालन रोक्न आग्रह गरेकी हुन् । उनले तनावलाई कम गर्दै संवादमार्फत् इरान र इराकको समस्या समाधान गर्नुपर्ने जनाएकी हुन् ।
ईयू विदेश मामिला प्रमुख जोसेफ बोरलसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘‘अहिलेको संकटले त्यस क्षेत्रलाई मात्र प्रभावित गरेको छैन कि हामीलाईसमेत प्रभावित गरेको छ । संवादमार्फत समाधान खोज्नका लागि हतियारको प्रयोग तत्काल रोक्नुपर्छ ।’’
विदेश मामिला प्रमुख बोरेलले इरान र इराकको पछिल्लो परिस्थितिले सिंगो क्षेत्रमा नै त्रास फैलाएको छ । उनले भने, ‘‘पछिल्लो समय अमेरिकाले इराकमाथि गरेको रकेट आक्रमणले युद्ध बढिरहेको भन्ने प्रमाण पेस गरेको छ ।’’
बोरेलले इरानलाई परमाणु सम्झौतामा ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । आफूले पछिल्लो परिस्थितिको विषयमा कुरा गर्न इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफलाई ब्रसेल्स बोलाएको समेत जनाएका छन् ।
















