शहीद महिला गोल्डकपकाे फाइनलमा मोरङ र धनकुटा भिड्ने

80

धनकुटा / धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा मोरङ र धनकुटा भिड्ने पक्का भएकाे छ ।  अाज  भएकाे सेमिफाइनल खेलहरूमा मोरङ फुटबल क्लब र धनकुटा फुटबल क्लब विजयी हुँदै फाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको सेमिफाइनल खेलमा मोरङले कन्काइ फुटबल क्लब झापालाई र धनकुटाले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबले कन्काई फुटबल क्लब झापालाई टाइ बेकरमा २–१ गोलअन्तरले पराजित गरेको हो। मोरङ र झापाबीच सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको थियो। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मोरङकी मुना मगरले खेल सुरु भएको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

खेलको दोस्रो हाफको चौथो मिनेटमा झापाकी कुशुम खतिवडाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन्। त्यसपछि दुवै तर्फबाट पटकपटक पाएको मौका गुमाउँदा खेल टाइ ब्रेकरमा धकेलिएको थियो। टाइबेकरमा मोरङका मुना मगर र मनिषा विष्टले गोल गरे भने झापाकी सम्झना लावतीले गोल गरिन । मोरङकी इमा राईको प्रहार झापाकी गोलकीपर छत्रिका चौधरीले रोकेकी थिइन्। त्यस्तै कोपिला धिमालको प्रहार बाहिरिएको थियो।

यता झापाकी जुनु मगर र सरिता शेर्पाको प्रहार मोरङकी गोलकिपर कल्पना क्षेत्रीले रोकेकी थिइन भने प्रिया कार्की र कुशुम खतिवडाको प्रहार बाहिरिएको थियो। खेलको वुमन अफ द म्याच मोरङकी कल्पना क्षत्री घोषित भइन्। यस्तै सोमबार नै सम्मन्न दोस्रो सेमिफाइनल खेलमा धनकुटा फुटबल क्लबले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई १–० गोलअन्तरले पराजित गरेको छ। खेलको दोस्रो हाफको २४ औं मिनेटमा धनकुटाकी सध्या रम्तेलले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाइन र सोही गोल खेलको निर्णायक गोल भएको थियो।

खेलमा ताप्लेजुङ पटकपटक पाएको मौका गुमाउँदा पराजय भएको थियो। खेलको वुमन अफ द म्याच धनकुटाकी सध्या रम्तेल घोषित भइन्। प्रतियोगिताअन्तर्गत मंगलबार फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश १ का विभिन्न ८ टिमको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here