साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

297

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७५.७९ अंकले ओरालो लाग्दा २५७२.२२ अंकमा झरेको छ ।

नेप्सेमा २.८६ प्रतिशतको करेक्सन हुँदा सवा ७ अर्बमााथिको कारोबार भएको छ । १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २८ करोड ४१ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबै उपसूचकमा आरालो लाग्दा बजार परिसूचकमा पनि उच्च अंकको गिरावट आएको छ ।

आइतबार होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ६.१४ प्रतिशतले करेक्सन हुँदा हाइड्रोपावर उपसूचक ४.३७ प्रतिशतले घटेको छ । यस्तै, वित्त कम्पनी निर्जीवन बिमा, लगानी, लघुवित्त र व्यापार उपसूचकमा ३ प्रतिशतमाथिको करेक्सन हुँदा जीवन बिमा र विकास बैंक उपसूचकमा करिब ३ प्रतिशतको करेक्सन भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि २.३४ प्रतिशतले करेक्सन भयो । वैशाख २ गते २७३५.४० अंकको ऐतिहासिक उचाइमा पुगेर गएको साताबाट बजारमा करेक्सन सुरु भएको थियो । गएको साता मात्रै ३ प्रतिशतभन्दा बढीले करेक्सन भएको बजार आज पनि करिब ३ प्रतिशतले ओरालो लाग्यो ।

सामान्यतयः आर्थिक वर्षको चौथो त्रैमास सेयर बजारको लागि राम्रो मानिन्छ । लगानीकर्ताले चैत मसान्तमा तेस्रो त्रैमासको ब्याज तिरिसक्ने र चौथो त्रैमासको ब्याजदर तिर्दा एक वर्षको लाभांश खाने समय हुने भएकोले वैशाखदेखि सेयर बजारमा लगानी गर्ने सिजनको रुपमा लिइन्छ ।

गएको साताबाट भने सेयर बजारमा गिरावट सुरु भएको छ । सेयर बजारका विश्लेषक विष्णु बस्याल अहिलेको करेक्सन करिब २ महिना रहन सक्ने बताउँछन् । “योपटक बजारमा २० प्रतिशतसम्मको करेक्सन आउने सक्ने देखिन्छ र यो समय डेढदेखि २ महिना रहनसक्छ,” उनले बाह्रखरीसँग भने, “सबै क्षेत्रमा नै करेक्सन आउने देखिन्छ । विशेषगरी अहिलेको बुलमा जुन क्षेत्र बढी बढेको थियो, त्यही क्षेत्रमा बढी करेक्सन हुनसक्छ । तर, हाइड्रोपावर क्षेत्रमा भने २/४ दिनपछि सकारात्मक हुनसक्छ ।”

धितोपत्र दलाल व्यवसायी भरत रानाभाट भने अहिले कोभिड–१९ को त्रासबाहेक बजार घट्नुपर्ने कारण नरहेको बताउँछन् । मुलुकमा कोभिडको नयाँ भेरियन्टले भयावह अवस्था बन्दै गर्दा लगानीकर्ताले यस्तो महामारीमा केही नगदको जोहो गर्नुपर्छ भन्ने हिसाबले पनि अहिले बिक्री कर्जा हाबी भएको उनी बताउँछन् ।

“अहिले बजारमा बिक्री चाप बढी छ । सेयर बजार भनेको आवश्यक परेको बेलामा नगदमा परिवर्तन गर्न सकिन्छ भनेर लगानी गरेको हुन्छ,” उनले भने, “भोलिको दिनमा के हुने हो भन्ने हिसाबले लगानीकर्ताले केही नगदमा रूपान्तरण गरौँ भन्ने सोचाइ रहेको देखिन्छ । बजारबाट लगानी बाहिरिने अवस्था अहिले छैन ।”

केही दिन बजारमा बिक्रीकर्ता हाबी भए पनि विस्तारै खरिद चाप बढेपछि बजार फर्कने उनले बताए । बजार बढ्न लागेपछि अहिले सेयर बेच्नेहरु सेयर खरिद गर्न लाग्ने उनले दाबी गरे ।

लगानीकर्तामा बजारप्रति पोजिटिभ सेन्टिमेन्ट नै रहेको उनी जनाउँछन् । बजार परिसूचकमा भारी करेक्सन हुँदा पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यता, चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा माथिले घटेको छ ।

कारोबार रकममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लिड गरेको छ । बैंकको सर्वाधिक ३९ करोड ५२ लाख ५३ हजारको कारोबार हुँदा ज्योति लाइफको  ३३ करोड ८५ लाख ६३ हजारको कारोबार भएको छ ।  कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ५ कम्पनी बढेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here