शहीद उत्पादन गर्ने कार्यशैली परिवर्तन गर्न जरुरी !

200

– निशा तामाङ

आज शहीद दिवस ! पछिल्लो केही वर्षयता शहीदहरूको सम्झनामा शहीद दिवस सप्ताहव्यापी रूपमा मनाइँदै आएको छ । आज पनि शहीद दिवस भव्य रूपमा मनाइँदैछ । देशमा क्रान्ति ल्याउन र शान्ति निर्माण गर्नका निम्ति शहीदहरूले विभिन्न कालखण्डमा देशको लागि आफ्नो प्राण त्याग गर्दै आएका छन् । राणाशासनको निरंकुशताको अन्त्यका लागि शहीदहरूले बलिदानी दिएका थिए । नेपालको वर्तमान अवस्था शहीदहरूकै बलिदानीका कारण भएको हो भन्दा फरक नपर्ला । प्रजातन्त्र स्थापनाका लागि प्राण आहूति गर्ने शहीदहरूको जति नै सम्मान गरेपनि अपुग हुने गर्दछ । चाहे त्यो राणाशासनका बेला होस् या १० वर्षे जनयुद्धका बेला नै होस्, शहिदले आफ्नो प्राण देशका लागि समर्पण गरेकै हुन् भन्न सकिन्छ । शहीदहरूको सम्झना अरु कसैले भन्दा सत्तामा रहेका पदासीन व्यक्तिहरूले गर्ने गरेको पाइन्छ । शहीदका सपना साकार पार्ने बचनबद्धता व्यक्त गर्दै शहीदको भ¥याङ चढेर सत्तामा पुग्नेहरू शहीदको खेती सुरु गरिरहेका छन् । ‘मैले यति शहीदको जिम्मा लिन्छु र यति शहीदको जिम्मा लिन्न’ भन्दै शहीद भएकाहरूको बाँडफाँड गर्दै राजनीतिक चलखेल बढाइरहेका छन् ।

नेपालको इतिहासमा प्रथम शहीदको रूपमा लखन थापालाई लिइएको छ भने राणा शासनको अन्त्यको लागि प्राण आहूति दिने चार शहीदहरू गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र शुक्रराज शास्त्रीलाई लिइन्छ । शहीद दिवसको उपलक्ष्यमा राणा शासनविरूद्ध देशका लागि आफ्नो प्राण त्याग गरेका वीर शहीदहरूलाई महत्वपूर्ण नेतृत्वका रूपमा लिई सम्मान गरिँदै आएको छ । यसै सम्मानका साथ नेपालमा शहीद सप्ताह मनाइँदै आएको हो । धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायतका व्यक्तिहरू राणाशासनको विरुद्धमा बलिदानी दिएकाले उनीहरूकै सम्झनामा शहीद दिवस विशेष रूपमा मनाउने गरिदै आएको छ । राजनीतिक दलका नेताहरूले शहीदहरूका सपनालाई बिर्सिदिएका छन् । शहीद दिवस मनाउनु र शहीदहरू उत्पादन गर्दै जानु नै राजनीतिक दलका नेताहरूको मुख्य कार्य बन्दै गएको छ । यस्तो कार्यले शहीदहरूको बलिदानी व्यर्थ भएजस्तो महसुस हुन्छ । राजनीतिक दलहरूले शहीदहरूलाई माला अर्पण गरेर बलिदानीको सम्मान गर्नुभन्दा पनि शहीदहरूको बलिदानीको वास्तविक रूपमा सम्मान गर्दै उनीहरूले के उपलब्धिका लागि बलिदानी दिएका थिए भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ । त्यसैअनुरूप थप शहीदहरू उत्पादन गर्ने कार्यशैलीलाई परिवर्तन गर्नुपर्छ ।

शहीदहरूले देशलाई स्वतन्त्र तुल्याउन, देश विकास गर्न तथा देशमा शान्ति कायम गर्न महत्वपूर्ण योगदान दिँदै आएको भनेर राजनीतिक दलहरूले भन्ने गरे पनि देश अझै  विदेशी दबाबमा चलिरहेको छ, अझै पूर्णरूपमा स्वतन्त्र हुन सकिरहेको छैन देश । विदेशी दवाव र दासत्वबाट स्वतन्त्र नभएसम्म देश स्वतन्त्र भएको मान्न सकिन्न ।  देशलाई स्वतन्त्र बनाउनका निम्ति विदेशी दबाबबाट देश मुक्त हुनुपर्छ ।

नेपालका राणा शासकहरूले नेपाली जनतामाथि निरंकुशतन्त्र कायम गरेका थिए । त्यही निरंकुशतन्त्रका विरुद्ध आन्दोलन गर्ने क्रममा राणा शासकहरूबाट मारिएका व्यक्तित्वहरूकै सम्मानमा विशेषतः यो शहीद दिवस मनाउने गरिन्छ । राणाशासनबाहेक नेपालको ऐतिहासिक कालखण्डमा विभिन्न वीर शहीदहरूले बलिदानी दिँदै आएका छन् । राणाशासनकालदेखि अहिलेको अवस्थासम्म थुप्रै नेपाली जनताले देशका लागि आफ्नो ज्यान दिएर शहीद बनेका छन् । देशमा राणाशासनबाट प्रजातन्त्र ल्याउन ज्यान अर्पण गरेका शहीदहरू, प्रजातन्त्रपछि लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गर्न ज्यान दिएका वीर शहीदहरूको ठूलो योगदान रहेको छ ।

शहीदहरूकाबारेमा लेखिरहँदा र देशको आजको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई हेर्दा शहीदहरूबारे आजका सत्तासीनहरू शहीदहरूको रगतमा टेकेर नै नेता बनेका हुन् । शहीदहरूका सपना पूरा गर्ने कसम खाँदै गरेका नेताहरूले शहीदका सपना भनेको देशको स्वतन्त्रता र स्वाधीनताका साथै जनताको सुख र सन्तुष्टि हो भन्ने कुरालाई चटक्कै बिर्सिदिएका छन् । देश विकासका पुर्वाधारहरू के हुन् भन्ने कुरातर्फ आजका सत्तासीनहरूले बुझ्ने प्रयास गरिरहेका छैनन् । नेपालमा प्राकृतिक विकासका पूर्वाधारहरू बिर्सिएर प्राकृतिक सम्पदाको दोहन गर्दै वातावरण विनास गर्दै समृद्धितर्फ उन्मुख भएको दावी गर्दै आएका छन् भने विदेशी शक्ति राष्ट्रहरूका स्वार्थका लागि प्रयोग हुने दासत्वपूर्ण मानसिकताबाट नेताहरू ग्रस्त देखिन्छन् । नेताहरूले शहीदको सही  अर्थमा सम्मान गर्नुपर्दछ । शहीदको खेती गर्ने कामलाई बन्द गर्नुपर्छ । देशको स्वतन्त्रता र जनताको सुखी जीवन नै शहीदका सपना हुन् । देशको लागि ज्यान दिने शहीदहरूको बाँडफाँड गरेर शहीदलाई सम्मान मिल्न सक्दैन । अतः शहीदको उचित सम्मान गर्न शहीदको बलिदानीलाई आत्मसात गर्दै शहीदको सपना पूरा गर्नतर्फ लाग्नु पर्दछ । नेताहरू सबैले बुझ्नु जरुरी छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here