काठमाडौं / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाएसँगै पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका हुन्। महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो। २६औँआइजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो। यसअघि नायव महानिरीक्षक (डीआइजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए।
दर्ज्यानी चिन्ह ग्रहणपछि नयाँ आइजीपी ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सेवामा परिवर्तन ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् । आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको आक्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रहेर गृह प्रशासन मातहतको उत्कृष्ठ नमुना सङ्गठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।


















