– प्रीति रमण
छिमेकी देश भारतको राजधानी दिल्लीमा हालै भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ । यसका नेतृत्वकर्ता हुन्, अरविन्द केजरीवाल । भारतभरको निर्वाचनमा बहुमत हासिल गरेको भाजपाले दिल्लीमा भने आपलाई पराजित गर्न सकेको छैन । त्यसैकारणले दिल्लीका विगतका दुई सरकार र अहिले पनि आम आदमीले नै नेतृत्व लिने मौका पाएको छ । प्रभावशाली नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले किन आपलाई हराउन सकेको छैन त ? यसको एउटै जवाफ हो, आपले लिएको राज्य सञ्चालका एजेन्डा र त्यसको कार्यान्वयन ।
नेपालमा आपलाई आदर्श मान्ने थुप्रै नेताहरु छन् । आपको कार्यशैली नेपालमा पनि लागू गर्नुपर्ने केहीले मत प्रकट गर्दै आएका छन् । अझ नेपालमा त कम्युनिष्ट पार्टीको शासन रहेकाले पनि आपले जस्तो काम गर्न अनुसरण गर्नुपर्ने अझै आवश्यकता छ । त्यसका लागि यहाँका सत्तारुढ दलका नेता तथा मन्त्रीहरुले केजरीवाल र आपका एजेन्डाबाट धेरै सिक्नुपर्ने देखिन्छ ।
भारतमा प्रधानमन्त्री मोदी लोकप्रिय त छन् । तर, भारत एउटा सुरक्षित राष्ट्र भएका बेला भाजपाको शक्ति प्रदर्शन गर्ने राष्ट्रवादी अभियानले आक्रोश, असुरक्षा र शून्यपन निम्त्याएको धेरैले ठान्छन् । यसको कारण मोदीलाई ठान्नेहरु पनि थुप्रै छन् । देश गम्भीर रुपमा आर्थिक मन्दीमा गइरहेका बेला मोदीको रुखो राष्ट्रवादी राजनीतिले ध्यान अन्तै मोड्ने प्रयास गरेको पनि उनीहरुको आरोप छ । यस्तो बेलामा केजरीवाल भने जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर राजनीति गरिरहेका छन् । उनले जनताको दैनिकी बढीभन्दा बढी सहज बनाउन काम गर्दै आएका छन् । केजरीवालले पाँच वर्ष सरकार चलाउँदा पानी र बिजुलीको निश्चित युनिटसम्मको प्रयोग गर्दा निःशुल्क उपलब्ध गराउनुका साथै बसहरुमा महिलाहरुलाई निःशुल्क यात्रा गर्ने व्यवस्था गरेका थिए । यस्तै, दिल्ली सरकार अन्तर्गतका अस्पताल र स्वास्थ्य चौकीहरुमा समेत ‘फ्रि स्वास्थ्य उपचार’ को व्यवस्था गरेका थिए । दिल्लीभित्र रहेका शैक्षिक संस्थाहरुको सुधार गर्दै सबैका लागि शिक्षा दिने योजना कार्यान्वयन गरेका थिए ।
५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका हुन् । उनी पहिलोपटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुनः निर्वाचित भए । भारतका सरकारी विद्यालयमा सुधार ल्याएको, सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराएको जस उनलाई जाने गर्छ । प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकार अझै पनि केन्द्र सरकारसँग रहेका बेला उनले राज्यको बृहत् स्वायत्त अधिकारका लागि समेत निरन्तर रुपमा अभियान गर्दै आएका छन् । जितपछि उनले भनेका छन्, ‘यो केवल मेरो मात्रै जित होइन । राम्रो शिक्षा र स्वस्थ्य उपचार पाइरहेका बालबालिकाका परिवारको जित हो ।’
नेपालमा पनि कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट केपी ओली नेतृत्वको सरकार छ । यो सरकार गठन भएको दुई वर्ष बितिसकेको छ । बहुमत हासिल गरेको यो सरकार स्थिर हुनुका साथै काम गर्ने सहज अवसर पनि पाएको छ । तर, सोही अनुसार काम गर्न नसक्दा जनअसन्तुष्टि भने बढ्दै गएको छ । आवरणमा कम्युनिष्ट पार्टी भए पनि व्यवहारमा भने दलाल पूँजीवादलाई यो सरकारले प्रोत्साहन गरिरहेको छ । सरकारले गरिब कृषक तथा मजदुर वर्गका लागि खासै उल्लेखनीय काम गर्न सकेको छैन । कृषिमा आधुनिकीकरण तथा आत्मनिर्भरताका लागि सरकारले खासै योजनाहरु ल्याउन सकेको छैन । ल्याएका योजनाहरु पनि प्रभावकारी देखिएका छैनन् ।
जसरी दिल्लीमा केजरीवालको पार्टीले जनताको शिक्षा, स्वास्थ्य, यातायात र दैनिक जीवनका अन्य विषयमा सहुलियत दिने काम गर्दै आएको छ, त्यसको अनुशरण गर्न सरकारले आवश्यक छ । अहिले पनि कतिपय स्थानमा पानी नआए पनि महसुल बुझाउन जनता बाध्य छन् । शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तीय संस्थामा त झनै लुट मच्चिएको छ । सरकार आफैले निर्धारण गरेको दर लागू गर्र्न नसक्दा मेडिकल शिक्षा सञ्चालकहरुले एकै विद्यार्थीबाट लाखौं रुपैयाँ असुल्दै आएका छन् । यसको विरोध गर्ने विद्यार्थीलाई उल्टै सरकारले समातेर जेल हाल्दै आएको छ ।
यिनै कारणहरुले गर्दा सरकारको कामको आलोचना बढ्दै गएको छ । तर, सरकार भने आफ्नो आलोचनाको कारण नबुझी जनताको अभिव्यक्ति स्वतन्त्रता नै खोज्ने अभियानमा छ । सरकारको आलोचना गर्ने सञ्चारमाध्यममा तथा सामाजिक सञ्जाललाई अंकुश लगाउनका लागि सरकारले विधेयक नै संसद्बाट पारित गरेको छ । यी गतिविधि हेर्दा यो सरकारलाई कुनै कोणबाट कम्युनिष्ट सरकार मान्न सकिने देखिँदैन । यस्तो अवस्थामा सरकार कसरी चलाउने भन्ने सिक्न धेरै टाढा जानुपर्दैन, दिल्लीको आपलाई हेरे पुग्छ । आपले जसरी काम गर्न सके जनताले पनि पत्याउने र आलोचनामुक्त हुन सकिने विषयलाई सरकारले बुझ्नु पर्छ । – [email protected] – जनधारणा साप्ताहिक


















