पितृसत्ताले शिवमायालाई दिएको उपहार जस्तैै भयो मन्त्री पद

75

– निशा तामाङ

पितृसत्तात्मक सोचले जरा गाडेको नेपाली सामाजिक संरचनामा सक्षम महिला समेत असक्षम बन्दै गएका छन् भन्ने कुरा सबैलाई जानकारी भएकै जस्तो लाग्छ । नेतृत्वतहमा पनि महिलाहरु पछाडि पर्दै गएका छन् । पितृसत्तात्मक सोचाइले नै महिलाहरु नेतृत्वतहमा पुग्न सकिरहेका छैनन् भन्ने कुरा पनि व्यवहारिक रुपमै पुष्टि भइसकेको छ ।  नेतृत्व तहमा पुगिहाले पनि पितृसत्ताले दिएपछि मात्र पुग्ने गरेको धेरै उदाहरण हाम्रा सामु नै छन् । सरकारको मन्त्रीमण्डलमा यतिखेर महिला नेतृत्वमा तीन जना मात्र महिला मन्त्रीहरु छन् । भर्खरै मात्र नियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे उपसभामुखको नेतृत्व गर्दागर्दै राजीनामा दिन बाध्य हुनुभएकोे थियो । पितृसत्तात्मक सोचको हावी राजनीतिक नेतृत्व तहमा उहाँलाई विभिन्न दबाब र प्रभावमा पारेर उपसभामुख पदबाट राजीनामा दिन लगाइएको थियो । शिवमाया तुम्बाहाम्फे उपसभामुख पदबाट राजीनामा दिएपश्चात एकाएक पद विहिन हुनुभएको थियो । पद विहिन शिवमायालाई पितृसत्ताले नै अहिले यो मन्त्री पद उपहार स्वरुप दिएको जस्तो देखिएको छ । प्रधानमन्त्री केपी ओलीले शिवमायालाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसअघि उहाँले नै शिवमायालाई उपसभामुखबाट राजीनामा दिन दबाब दिँदै आउनुभएको थियो । पितृसत्ताको उपहार स्वरुप  कानुनमन्त्री शिवमायाले त्यसबेला प्रतिनिधि सभाको उपसभामुख पदबाट राजीनामा दिँदै पत्रकार सम्मेलन मार्फत पितृसत्तासँगको लडाइँ नरोकिने चेतावनी दिनुभएकोे थियो । आज उहाँलाई फेरि सरकारको नेतृत्व तहमा कानुन मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।  पितृसत्ताले दिएको यो उपहारको माध्यमबाट पितृसत्तासंगको लडाइँमा योद्धाको रुपमा शिवमाया तयार हुनुपर्ने देखिन्छ ।

शिवमाया तुम्बाहाम्फेमा असक्षमताको कुनै प्रश्न छैन । उहाँको नामको अगाडि नै डा. ले सम्बोधन गर्नु नै एक शैक्षिक सक्षमताको प्रतिक हो । सभामुखका लागि सक्षम हुँदाहुँदै पनि उपसभामुख पदबाट राजिनामा दिनुभएकी शिवमायाले पितृसत्ता सोचले जरा गाडेको उल्लेख गर्दै मुलुकमा रहेको पित्तृसत्ता फाल्न अझै मिहिनेत गर्नुपर्ने अभिव्यक्ति पनि दिनुभएकोे थियो । राजसंस्था भन्दा पितृसत्ता बलियो रहेको महसुस गर्दै उहाँले त्यसबेला व्यक्त गर्नुभएको अभिव्यक्ति निकै चर्चाको विषय भएको थियो । त्यसैबेला शिवमायाले आफूलाई सबैले फरक भूमिकामा पाउने खुलासा गर्दै  आउनुभएको थियो, नभन्दै उहाँले आफूलाई फरक भूमिकामा अर्थात कानुन मन्त्रीको  रुपमा उभ्याउन सफल हुनुभएकोे छ ।

हाम्रो समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै लैजानु पर्ने आवश्यकता छ । सिद्धान्तः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा पनि भन्ने गरिएको छ । २१औं शताब्दीको वर्तमान समयसम्म आइपुग्दा जैविक क्षमता र शारीरिक रूपमा महिला र पुरुषका बीचमा केही भिन्नता भए पनि क्षमताको हिसाबले महिला र पुरुषमा कुनै भिन्नता देखिदैन । मानसिक र मिहेनती  क्षमताका हिसाबले बरु पुरुषभन्दा महिला अझ बढी अब्बल देखिने गरेका छन् । तर पितृसत्तात्मक समाजमा आज पनि महिलालाई पुरुषसरह मान्न तयार देखिदैन । पितृसत्ताले नै दिएको भरमा नेतृत्व गर्नुपर्ने बाध्यता रहेको देखिन्छ । यसपटक शिवमाया प्रकरणले पनि यही पुष्टि गरेको छ ।

यस्तो प्रवृतिको अन्त्य हुुनुपर्ने देखिन्छ । संविधानमा उल्लेख गरिएको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनु जरुरी छ । पितृसत्ताको अन्त्य सामाजिक र सांस्कृतिक रूपान्तरणबाटै हुने गर्दछ । जसको आधार हरेक नागरिकको सोचाइ, बोलाइ र गराइमा हुने रूपान्तरण हो । यी कुरामा रूपान्तरण देखिन महिलालाई मातहतको रूपमा होइन, समान नागरिकका रूपमा हेर्ने, लेखाइ र बोलाइमा समभावी भाषाको प्रयोग गर्ने, दिइने जिम्मेवारी र गरिने व्यवहारमा प्रतिबिम्बित हुने लगायतका व्यवहारमा रुपान्तरण जरुरी छ । राजनीतिक नेतृत्वदेखि नै समाजका हरेक क्षेत्रमा पितृसत्ता सोचको रूपान्तरण गर्नु जरुरी छ ।

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले पदभार सम्हालेपछि  गत माघमा उपसभामुख पदबाट राजीनामा दिँदै गर्दा आफुलेयूटर्न गर्छु भनेकी थिएँ र अहिले त्यसै अनुसार मन्त्रालयको जिम्मेवारीमा आएको समेत जानकारी गराउनुभएको छ । शिवमायाले यो जिम्मेवारी काम गर्नकै लागि लिएको समेत दाबी गर्नुभएको छ । अगामी दिनमा अब उहाँको भूमिका कस्तो  हुनेछ भन्ने कुरा भविष्यले नै देखाउनेछ । पितृसत्ताको लडाँइमा उहाँ अहिले सशक्त योद्धाको रुपमा उत्रिनुभएको छ, आम महिलाहरुले शिवमायाको पितृसत्ता विरुद्धको लडाँइलाई साथ दिएर महिलामैत्री कानुन निर्माणका लागि दबाब पनि दिन जरुरी छ । यो नै शिवमायाको सफलताको आधार पनि बन्न सक्नेछ । – samarianisu@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here