प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा प्रहरीकाे नियन्त्रणमा

187
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जनाएको छ ।

जुम्लाका २२ वर्षीय युवक रतन तिरूवाले आज  दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए।

रतन पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ। रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए।

‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।

उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।