काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले माग पूरा गर्न गम्भीरता नदेखाएको जनाउँदै थरुहटरथारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई थप दबाब दिन बन्द आह्वान गरेको जनाएको छ ।
थारु समुदायका माग पूरा गराउन दोस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आमहड्तालको कार्यक्रम घोषणा गरिएको मोर्चाका कैलाली संयोजक माधव थारुले जनाएका छन् । मोर्चाले विज्ञप्ति निकालेर आमहड्तालको घोषणा गरेको छ । केन्द्रीय संयोजन समितिका महासचिव तुलसी थारुले हस्ताक्षर गरेको विज्ञप्तिमा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ ।
मोर्चाले आह्वान गरेको आमहड्तालको अवज्ञा गरी सवारीसाधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार र स्वयं रहने जनाउँदै सबैलाई सचेत समेत गराइएको छ ।आमहड्तालको समयमा अतिआवश्यक सवारीसाधन, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दूध बोक्ने साधन, औषधिजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कूटनीतिक नियोगका सवारीसाधन भने निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ ।
मोर्चाले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै आएको छ । फागुन १ गतेदेखि सुरू भएको मोर्चाको पहिलो चरणको आन्दोलन अन्तर्गत नेता लक्ष्मण थारुले अनसन गरेका थिए ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले मोर्चाको आन्दोलनमा समर्थन जनाएका छन् ।


















