काठमाडौं – भुटानमा कोरोना भाइरस संक्रमण देखिएसंगै भुटान सरकारले कोरोना नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङले देशवासीका नाममा सम्बोधन गरे र कोरोनाका बारेमा जानकारी दिए।
संक्रमण फैलिन नदिन भुटानमा धेरै प्रयास गरिएको थियो। तर, एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएसँगै भुटानको नाम पनि कोरोना संक्रमित राष्ट्रमा पर्यो।
‘सरकार विपतको बेलामा जनतासँगै छ,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए। ‘दुई हप्ताका लागि भुटान प्रवेशमा सबै पर्यटकलाई रोक लगाइएको छ। भाइरसको संक्रमण फैलिन नदिन र जनतामा त्रास फैलिन नदिन यसो गरिएको हो,’ भुटानको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
एक जनामा संक्रमण देखिएसँगै त्यहाँ पनि मास्क र स्यानिटाइजर किन्न मानिसहरु बजार पुगिरहेका छन्। घरका लागि आवश्यक सामान जोहो गर्दैछन्। यसैबीच बजारमा स्यानिटाइजरको अभाव हुन नदिन भुटान सरकारले आफ्ना नागरिकहरुका लागि निस्शुल्क रूपमा स्यानिटाइजर वितरण गर्न सुरु गरेको छ।
बजारमा स्यानिटाइजरको अभावसँगै त्रास नफैलियोस् भनेर भुटान सरकारले ‘अल्कोहल’,स्प्रिट, ग्लिसिरिन मिसाएर स्यानिटाइजर तयार पारेको हो। विस्तारै अन्य स्थानमा समेत स्यानिटाइजर र मास्क वितरण गर्ने योजना सरकारले बनाएको छ। शनिवार राजधानी थिम्पुको तीन स्थानमा लोटे सरकारले नि:शुल्क स्यानिटाइजर वितरण गरेको थियो।


















