काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न चाहेको नभइ छाडापनलाई नियन्त्रण गर्न खोजेको जनाउँदै प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने जनाएका छन् ।
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भएपनि पछिल्लो समय बनेका केही कानूनहरुले त्यसलाई असर पारेको जनाए । राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतलाई नियन्त्रण गर्नुभन्दा पनि पूर्ण स्वतन्त्रता प्रदान गर्न भूमिका खेल्न उनले सबैमा आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गरे ।


















