काठमाडाैं – नुन बिक्रीवितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जस्तोसुकै विपत् आइपरे पनि नुनको अभाव नहुने जानकारी दिएको छ। भूकम्प, नाकाबन्दीमा समेत नुनको अभाव हुन नदिएको र अहिले पनि १० महिनालाई पुग्ने नुन रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपालभर पाउन सकिने जनाएको हो।
आज एक कार्यक्रम गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले करिब १ लाख ३२ हजार टन आयोडिनयुक्त नुन गोदाममा, २२ टन मार्गस्थलमा गरी १ लाख ५५ हजार टन नुन रहेको जानकारी दिएको हो। त्यस्तै साल्ट ट्रेडिङले आफैँ बिक्री गर्दै आएको अन्य वस्तुहरु समेत मौज्दात रहेको बताएको हो।
चिनी २ हजार ५ सय टन गोदाममा र मार्गस्थलमा ७ हजार ५ सयम मेट्रिकटन स्टक मौज्दात रहेको जनाकारी गराएको हो। युरिया मल २७ हजार टन, डीएपी मल १३ हजार टन पोटास ८३ टन रहेको जनाकारी गराएको हो। त्यस्तै कागज ८ सय टन स्टक रहेकोले पत्रपत्रिका तथा छापा उद्योगहरुलाई समेत नआत्तिन आग्रह गरेको हो।
साल्ट ट्रेडिङ कर्पोरेसनकाे कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको ६ हजार डिलर तथा नेपालभरका खुद्रा पसलमा आपूर्ति व्यवस्था गर्दै आएको छ।
सरकारको समेत २२ प्रतिशत हाराहारीमा लगानी रहेको यो कम्पनीले नुन, चिनी, मलको बिक्रीवितरण गर्दै आएको छ। त्यसको अलावा, अन्य खाद्य वस्तु खाना पकाउने एलपी ग्यासको समेत आपूर्ति व्यवस्थापन गर्दै आएको छ।


















