देशमै कोरोनाको उपचार गर्ने तयारी

151

काठमाडौं  –  सरकारले कोरोना भाइरसको संक्रमण लागेकाहरूका  लागि मात्र उपचार गर्ने तयारी गरेको छ ।  कोरोनाका बिरामी मात्र उपचार गर्ने सरकारको तयारी काठमाडौंमा १२० र उपत्यकाबाहिर ११५ आइसियुको व्यवस्था गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण आउन नै नदिन सरकारले विशेष तयारी गरिरहेको जनाएका छन्।

मन्त्री ढकालले रोकथामको तयारी गर्दागर्दै पनि यो भाइरसको संक्रमण नेपालमा देखिए उपचारका लागि पनि विशेष तयारी गरेको जानकारी दिए। देशभरमा २ सय ३५ शय्या आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको हो।

काठमाडौंमा कोरोनाका बिरामीका लागि तीन वटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार कोरोनाको संक्रमण देखिएका ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले १ सय ५५ बेडको आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ।  उनले विमानस्थलदेखि नेपाल, चीन र भारतका नाकाहरुमा कोरोना जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए। ‘हामीले कोरोना भाइरसलाई नेपालमा आउन नै नदिने गरी विशेष तयारी गरेका छौं,’ उनले भने, ‘तर यो तयारी रहँदारहँदै पनि नेपालमा संक्रमण देखिएमा उपचारका लागि तीन वटा अस्पताल र आइसियुको व्यवस्था गरिएको छ।’

तीन वटा अस्पतालको नाम भने अहिले सार्वजनिक गरिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here