रक्तसञ्चार भ्यानको दुरुपयोग

16

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले रक्तसञ्चार भ्यानको दुरुपयोग गरेको पाइएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती उपशाखाका पदाधिकारीहरुले दाताले दिएको रक्तसञ्चार भ्यानको दुरुपयोग गरेका हुन् ।

कार्यसमिति सदस्यसहित जिल्ला रेडक्रसका पदाधिकारीहरु उक्त भ्यान लिएर छ दिने भ्रमणमा निस्किएपछि चर्को विरोध भइरहेको छ । चैत १५ गते भ्रमणमा निस्किएका उनीहरु सोमबार राति सोही भ्यानमा फर्किएका थिए ।

उनीहरु पूर्वी नेपालको विभिन्न जिल्लासहित भारतको सिक्किमसम्म पुगेको बताइन्छ । यता, जिल्ला शाखा सभापति बाबुराम कँडेलले उपशाखाका क्रियाकलाप अनुगमन गर्न गएको दाबी गरेका छन् ।

अन्य रेडक्रसले गरेका राम्रा गतिविधिको जानकारी लिन कावासोती उपशाखाको खर्चमा अवलोकन गरिएको उनी बताउँछन् । ‘अहिले भ्यान खाली छ । फ्रिज पनि राखिएको छैन् । रक्तदानको कार्यक्रमसमेत नभएकाले भ्यान लिएर गएका हौं । थन्केर बसेको भ्यान लैजाँदा के भयो र ?,’ उनले भने ।

अहिले मात्र नभई गत वर्ष पनि उपशाखाकै खर्चमा रेडक्रसकर्मीहरु पश्चिम नेपालको लामो भ्रमणमा गएका थिए । हालैको भ्रमणमा उनीहरु पूर्वी नेपालका सिन्धुली, बर्दिबास, दमक हुँदै भारतको दार्जिलिङ, सिक्किम पुगेर आएका हुन् ।

सभापति कँडेलले नेपालभित्र गरिएको भ्रमणको खर्च मात्रै उपशाखाले व्यहोरेको बताए । भारत भ्रमण आफ्नै खर्चबाट गरिएको उनको दाबी छ । भारत भ्रमणमा रहँदा उनीहरुले रक्तसञ्चार भ्यान सीमानाकामा छाडेका थिए ।

भ्रमणका लागि रक्तसञ्चार भ्यानको प्रयोग गर्न मिल्छ ? भनेर सोधिएको प्रश्नले उनले अन्य शाखाले पनि त्यस्तै गर्ने गरेको जवाफ दिएका छन् । तर विपद् व्यवस्थापनका लागि खोलिएको संस्था मोजमस्ती गर्ने थलो बनेकोमा रेडक्रसकर्मीहरुले गुनासो गरेका छन् । आर्थिक सहायताको रकम र सवारी साधनमा घुमफिर गर्नु ठीक नभएको एक जना रेडक्रसकर्मीले बताए ।

जनआस्थासँगको कुराकानीमा उनले भने, ‘विपद्मा काम गर्ने संस्थाले प्रत्येक वर्ष घुमफिरमा पैसा खर्च गर्नु राम्रो होइन् । विपद्को नाममा संकलन हुने रकमको दुरुपयोग भइरहेको छ । अझ यस पटक त पैसा मात्र होइन्, रगत संकलन गर्ने भ्यानको पनि दुरुपयोग गरियो ।’

कावासोतीको मुटु फलफूल चोकमा रेडक्रस उपशाखाको आफ्नै भवन छ । उक्त भवन भाडामा लगाएर उपशाखाले राम्रै आम्दानी गर्दै आएको छ । भ्यान सहयोगी दाता ‘नेपाल हिल्फे बाइलंग्रिस’ का कार्यक्रम संयोजक श्याम पण्डितले विपद् र रक्त संकलनका लागि प्रयोग गर्ने भ्यान भ्रमणमा लिएर जानु गलत भएको बताए ।

उनले भने, ‘भ्यान रगत संकलन गर्न र आवश्यक परेको ठाँउमा पुर्याउन दिइएको हो, भ्रमण गर्नलाई होइन् । भ्यान दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ ।’ रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर दाताहरुकै सहयोगमा कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । रगत ओसारपसार गर्न गत वर्ष एक करोड मूल्यको गाडी पनि दिइएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकारी धर्मदक्त बिडारीले शाखाको अवलोकन गर्न, कार्यक्रममा सहभागी हुन भ्यानको प्रयोग गर्नु स्वाभाविक भएको बताए । तर, त्यसको बहानामा हप्तौं भ्यान लिएर गायब हुनु र सीमानामा लगेर सवारी साधन छाड्नु गलत भएको उनको ठम्याइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here