विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

264

काठमाडौं । नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ भने विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था आफैं गर्नुपर्नेछ । क्वारेन्टाइनमा बसे वा नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरुले गर्ने जनाइएको छ ।

यो नियम अप्रिल ३० सम्म लागु हुनेछ । तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यस्तै, उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार अब विदेशबाट फर्किएका सबै नागरिकले १४ दिन ’सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने भएको हो ।

आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया नै ’सेल्फ क्वारेन्टाइन’ हो । कथम्कदाचित आफूलाई कुनै रोग या संक्रमण भएको रहेछ भने आफू नजिक हुने अरु ब्यक्तिलाई नसरोस् भनेर सावधानी अपनाउने तरिका पनि हो ।

क्वारेन्टाइनमा बस्दा परिवारका सदस्यसँग नजिक गएर कुरा गर्न नहुने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्नुपर्ने, माक्स लगाउने, छुट्टै बाथरुम प्रयोग गर्ने, क्वारेन्टाइन बसेको व्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग गर्न नहुने जनाइएको छ । क्वारेन्टाइनमा बस्दा बेला–बेला शरिरको तापक्रम लिन र संक्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श लिन सरकारले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here