काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम तथा उपचार कोषमा बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना कोषमा सहयोग गर्ने पन्त पहिलो बैंकर हुन् ।
पन्तले एक विज्ञप्ती जारी गर्दै एक महिनाको तलब ५ लाख ५१ हजार ४ सय १३।९४ रुपैयाँ उक्त कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । पन्तले कोरोनाभाइरसको महामारी रोकथाम तथा उपचारका लागि सहज होस भनेर सरकारले खडा गरेको कोषमा सवैले सक्दो सहयोग गर्नुपर्ने भएकाले आफूले सहयोगको हात बढाएको बताएका छन् ।
कोरोना संक्रमितको उपचारका लागि कर्पोरेट क्षेत्रले रकम जम्मा गरी सहयोग गर्नुपर्ने उनको धारणा छ । बैंक तथा अन्य कर्पोरेट क्षेत्रहरुले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोनाभाइरसका विरुद्ध काम गर्र्न र कोरोना उपचारका लागि चाहिने पीपीईलगायतका सामग्री उपलब्ध गराउन पन्तले कर्पोरेट क्षेत्रलाई आग्रह गरेका छन् ।
लकडाउनको समय र त्यसपछिको समयमा अत्यावश्यक सामग्रीको आपूर्तिमा निकै चुनौती भएको उल्लेख गर्दै यसमा पनि समस्या समाधान गरिनुपर्ने उनको सुझाव छ । उनले कोरोनाका कारण उत्पन्न हुन सक्ने वित्तीय संकट समाधान गर्नका लागि पनि कर्पोरेट क्षेत्रले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।


















