काठमाडाैं – कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको कोषमा १५ करोडभन्दा बढी रकम जम्मा भएको छ। शुक्रबारसम्म ‘कोरोना कोष’मा १५ करोड ३१ लाख तीन हजार दुई सय २२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
यस कोषमा एलआरआई स्कुलको तर्फबाट एक लाख, एनसेल प्रालिले १० करोड, कृषि विकास बैंकको तर्फबाट एक करोड २५ लाख रुपैयाँ रकम जम्मा गराएको हो।
त्यस्तै, हेटौंडा स्कुल अप म्यानेजमेन्टले १० लाख, राधामाधव समिति नेपालले १५ लाख, निर्माण व्यवसायी कोषले एक करोड, एनइबिएलले एक करोड रुपैयाँ, नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेपाली स्वास्थ्य व्यवसायी महासंघले ५ लाख १० हजार रुपैयाँ रकम जम्मा गराएका छन्।
नाम नखुलाउने तथा एक लाखभन्दा कम रकम सहयोग गर्ने विभिन्न व्यक्ति, संस्थाहरूबाट भने कुल २४ लाख ९३ हजार दुई सय २२ रुपैयाँ जम्मा भएको छ।
सरकारले कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरण लागि सो रकम खर्च गर्नेछ।


















