एजेन्सी – कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ। कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो। जापानमा मात्रै जम्मा १७३ जनामा सङक्रमण देखिएको छ।
एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए।
यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने जनाएका छन्।
यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ।

















