काठमाडौं – सरकारले जहाज पठाएर चीनबाट कोराना उपचार सामग्री ल्यायो। यसलाई प्रशंसा गर्न तम्सिएका सर्वसाधारण तब जिल्ल परे, जब यसको मूल्यमा धेरै गुणा फरक परेको तथ्य थाहा पाए।
नेपाल–चीन पारिस्पारिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले ती सामानको मूल्य अत्यधिक फरक परेको बताए। उक्त सामान किन्दा सार्वजनिक खरिद नियमावली प्रक्रियासमेत अबलम्बन गरिएको छैन। सस्तोमा दिन्छु भन्ने कम्पनी र उसको प्रतिनिधि नबोलाई खरिद गरिएको उनको भनाइ छ।
चीनको गोन्जाओमा १५ वर्षदेखि व्यापार गर्दै आएका नवीन बिकले पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै मूल्य अचाक्ली फरक परेको भन्दै ध्यानाकर्षण गराएका छन्। उनले बजार मूल्यमा चाहिएजति सामान पठाउन आफू तयार रहेको दाबीसमेत गरेको आजको अन्नपूर्ण पोस्ट्ले खवर छापेको छ ।


















