एजेन्सी – बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले कोरोना भाइरसको महामारीले फुटबलको आर्थिक अवस्थामा धक्का लाग्न थालेपछि पारिश्रमिक कटौतीको सहमति गर्न सबभन्दा पहिला आफूहरूले चाहेको जनाएका छन्।
कोरोना भाइरसका कारण फुटबल पूरा स्थगनमा रहँदा बार्सिलोनाका खेलाडीहरूको पारिश्रमिकबाट ७० प्रतिसत कटौति गर्ने सोमबार सहमति भएको थियो। तर, क्बलले सुरुमा यस्तो प्रस्ताव राख्दा खेलाडीहरूले ७० प्रतिसतमा असहमति जनाएको कारण निर्णय ढिलो भएको बताएको थियो। जसबाट बार्सिलोनाका लियोनेल मेसी, स्वारेज, एन्टोनी ग्रिजम्यानलगायतका महँगा खेलाडीको तीव्र आलोचना भएको थियो।
स्वारेजले यस्तो आलोचनाबाट आफूहरू स्तब्ध भएको जनाए । ‘खेलाडीहरूको पारिश्रमिक कटौतीको विषयमा धेरै मन दुख्ने कुराहरू बाहिर आएका छन्। खेलाडीले यो जटिल परिस्थितिमा योगदान गर्न चाहेनन भन्ने सन्देश बाहिर गएको छ। तर, त्यो सत्य होइन,’ स्वारेजले भने, ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट जनस्वास्थ्यको सुरक्षा गर्नुपर्ने जिम्मेवारी एकातिर थियो। साथमा यसका कारण सिर्जित क्लबको जटिल आर्थिक अवस्थामा पनि हामीले योगदान गर्नुपर्छ भनेर सबभन्दा पहिला खेलाडीहरूले नै आन्तरिक पहल सुरु गरेका हौँ।’
स्वारेजका अनुसार पारिश्रमिक कटौतीको प्रस्तावमा क्लबका कुनै पनि खेलाडीले विरोध गरेका थिएनन्। ‘सबै खेलाडी र प्रशिक्षकको समेत सर्वसम्मतिमा यो निर्णय भएको हो। यस्तो आपतकालीन समयमा हामी खेलाडी कसरी त्यति धेरै स्वार्थी हुन सक्थ्यौँ र? क्लबलाई सहयोगका लागि सबभन्दा पहिला हामीले नै प्रस्ताव गरेका थियौँ, यो सबैलाई जानकारी गराउन चाहन्छु,’ स्वारेजले भनेका छन्।

















