तुर्कमेनिस्तानमा ‘कोरोनाभाइरस’ शब्दै निषेध

97

एजेन्सी – तुर्कमेनिस्तानका अधिकारीहरू ‘कोरोनाभाइरस’ शब्दको प्रयोग सक्दो कम गरिरहेका छन्। यसबाट सक्दो यस महामारीको डर कम गर्न खोजेको जनाइएकाे छ ।  

तुर्कमेनिस्तानले ‘कोरोनाभाइरस’ शब्दलाई सडक, औपचारिक दस्तावेज र सञ्चार माध्यममा निषेध गरेको छ। तुर्कमेनिस्तानमा हालसम्म कसैलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको समाचार बाहिर आएको छैन। यसरी महामारीबारे सबै सूचना लुकाउनुले झन् उल्टो तुर्कमेनीलाई खतरा हुने रिपोर्टर्स् विथआउट बोर्डर्सले जनाएको छ।

स्मरणी छ, तुर्कमेनिस्तान इरानको उत्तरी छिमेकी देश हो। इरानमा हालसम्म ५५ हजार ७४३ जनामा कोरोनभाइरस सङ्क्रमण देखिएको छ भने ३ हजार ४५२ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै, तुर्कमेनिस्तानको उत्तरतर्फ छिमेकी देश कजाक्स्तान र उज्बेकिस्तान तथा दक्षिणपूर्वतर्फको छिमेकी अफगानिस्तानमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। अफगानिस्तानमा २९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ७ जनाले ज्यान गुमाइसकेका छन्। यता, उज्बेकिस्तानमा भने २६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ र यसबाट २ जनाको मृत्यु भइसकेको छ।

तुर्कमेनिस्तानको पश्चिमतर्फ क्यास्पियनपारि रुस र अजरवैजान पनि कोरोनाबाट ग्रस्त छ। रुसमा हालसम्म ४ हजार ७३१ जनामा यो सङ्क्रमण देखिएको छ भने ४३ जनाले ज्यान गुमाइसकेका छन्। यता अजरवैजानमा भने ५२१ जनामा सङ्क्रमण देखिएको छ भने ५ जनाको मृत्यु भइसकेको छ।

तुर्कमेनिस्तानी सञ्चार माध्यमले कोरोनाभाइरसबारे कुनै पनि सूचना दिइरहेका छैनन् भने त्यहाँका विद्यालय, अस्पताल र कार्यालयमा बाँडिने सामग्रीमा पनि ‘कोरोनाभाइरस’ शब्द हटाइएको छ। यसको पुष्टि तुर्कमेनिस्तान क्रोनिकल्स नामक एक स्वतन्त्र सञ्चार माध्यमले गरेको छ। तर, उक्त अनलाइन माध्यम तुर्कमेनिस्तानमै बन्देज गरिएको छ।

छिमेकी देशहरूमा यसरी कोरोनाभाइरस सङ्क्रमण फैलिँदै गर्दा तुर्कमेनिस्तानमा भने यो शब्द बोल्दा पनि पक्राउ पर्न सक्ने राजधानी आस्गाबाटका पत्रकारहरूले जानकारी दिएका छन्।

रिपोर्टर्स् विथआउट बोर्डर्सका पूर्वी युरोप र मध्य एसियाका प्रमुख जिन क्याभेलियर भन्छन्, ‘तुर्कमेनी अधिकारीहरू यस्तो कठोर रूपमा कोरोनाभाइरसबारे सबै सूचना नियन्त्रण गरिरहेका छन्।’

यसले तुर्कमेनी नागरिकलाई खतरा निम्त्याउनुका साथै त्यहाँका राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखाम्मेदोभको अधिनायकवादी चरित्र देखाएको उनले थपेका छन्।

तुर्कमेनीहरूलाई राज्यद्वारा यस महामारीसम्बन्धी दिइएको एकपक्षीय सूचना मात्र उपलब्ध छ र त्यहाँका अधिकारीका अनुसार हाल त्यहाँ कसैमा पनि सङ्क्रमण देखिएको छैन। यसअघि गत १३ मार्चमा तुर्कमेनिस्तानका ‘रक्षक पिता’ राष्ट्रपतिले महामारी नियन्त्रण गर्न ‘हर्मला’ नामक परम्परागत बिरुवा रोप्न निर्देशन दिएका थिए।

रुसको तुर्कमेनी राजदूतावासले यसबारे पत्रकारको कुनै पनि प्रश्नको जवाफ दिन नचाहेको बताएका छन्। रेडियो अजाट्लिकका अनुसार १७ मार्चमा उक्त राजदूतावास बन्द भएसँगै रुसको राजधानी मस्कोमा फसेका तुर्कमेनी नागरिकहरू त्यहाँको दोमोदोदेभो एयरपोर्टमा उडानका लागि पर्खेर बसेका छन्।

तुर्कमेनिस्तान प्रेस स्वतन्त्रताको मापनमा सबैभन्दा अन्तिममा पर्छ। त्यहाँका सबै मिडिया सरकारको नियन्त्रणमा छ भने केही न्यून इन्टरनेट प्रयोगकर्ताहरू पनि राज्यद्वारा नियन्त्रित वेभसाइट मात्र चलाउन पाउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here