काठमाडौं – राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकार असफल भएको र आफ्नो असफलतालाई ढाकछोप गर्न सेनाको जिम्मा लगाएको आरोप लगाउँदै विश्वव्यापी संक्रमण बढिरहेका बेला यही बहानामा देशभित्र भ्रष्टाचार हुनुले सरकार बदनाम भएको छ, भन्दै एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्ति यस प्रकार छ– ‘सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग हुने मेडिकल औजार खरिदमा ठूलो भ्रष्टाचार र अनियमितता गरेको भन्ने व्यापक चर्चाले नेपाली जाति र राष्ट्रको शीर निहुरेको छ । नेपालमा भ्रष्ट शासकहरुको चरित्र सर्पका मुखमा परेको भ्यागुताले फट्याङ्ग्रो खान खोजे जस्तो छ । यस्तो परिस्थिति र परिवेशमा मेडिकल औजार किन्न सेनालाई दिने निर्णय सरकारले गरेको खबर छ । नेपालको स्वतन्त्रता र सार्वभौमिकताका लागि सबैभन्दा मूल समस्या विदेशी हस्तक्षेप हो भन्ने निर्विवाद यथार्थ हो । यस्तो विदेशी हस्तक्षेप उनका नेपाली दलालमार्फत हुने गरेको यथार्थ पनि हामी समक्ष छ । विगतको नयाँदिल्लीमा भएको १२ बुँदेपछि यो समस्या अत्यन्त घनीभूत र सशक्त भएकोले योजनाबद्ध रुपमा नेपालमा आधारभूत संरचना र आधारशीलाहरुलाई तेजोबध गर्ने र भत्काउने काम तीव्ररुपमा भइरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘आफ्ना कतिपय कमजोरीका बाबजुद नेपाली सेनाको संगठन अहिलेसम्म पनि नेपाली जनताको आशाको एकमात्र आधारको रुपमा रहेको छ । त्यसको छवि धमिलो बनाइदिने र विवादमा ल्याउन अनेक आर्थिक कारोवारमा फसाउने नियोजित प्रयास भइरहेको छ । त्यसको पछिल्लो कडी सेनाको छवि र विश्वसनीयतालाई समाप्त पारेर आफ्नो भ्रष्ट आकांक्षा परिपूर्ति गर्ने र सेनाको काँधमाथि बन्दुक राखेर पड्काउन सरकारको नेतृत्व वर्गले सेनालाई अघि सार्न लागेको प्रष्ट छ । त्यसैले हामीलाई के लाग्दछ भने सेनाले सरकारको यस्तो आदेशलाई अस्वीकार गर्न जरुरी छ । राज्यका कुनै पनि संस्था र संगठनहरु निश्चित उद्देश्य र प्रयोजनका लागि बनाइएका हुन्छन् । त्यसको ठीक विपरीत प्रकृतिका काम गराउन आदेश दिइन्छ भने त्यस्ता आदेशलाई आफ्नो संगठन वा संस्थाको अस्तित्व रक्षाको लागि अस्वीकार गर्नु कुनै पनि संस्था व संगठनको नैसर्गिक अधिकार र कर्तव्य हो । सेनाले त्यही गरोस् भन्ने हाम्रो आग्रह छ ।’


















