भारतमा कोरोनाबाट मृत्यु र संक्रमितको संख्या थपिन्छ, त्यति नेपालका लागि खतरा

91

एजेन्सी – भारतमा कोरोना भाइरसबाबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म २२७ पुगेको छ । ६ हजार ७ सय संक्रमित भएका छन् । ६३५ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन् । तर, पछिल्लो केही दिनयता संक्रमितको दर तीव्र रूपमा फैलिएको छ । खासगरी पश्चिमोत्तर भारतमा कोरोना भाइरसको संक्रमण बढी छ । अहिलेकै अवस्थामा संक्रमित र मृत्युको दर बढेमा एक महिनामा भारतको हालत इटालीको जस्तो हुने भनेर चिकित्सकहरूले चेतावनी दिइरहेका छन् । तर, अझै पनि भारतका धेरै ठाउँमा मान्छेको आवतजावत बाक्लो नै छ ।

भारतमा जतिजति मृत्यु र संक्रमितको दर बढ्दै जान्छ, त्यतित्यति नेपाललाई कोरोना भाइरसको डर कायमै हुन्छ । किनकि नेपालको तीनतिर भारतको खुला बोर्डर छ । नाकाबाट मान्छे नआए पनि अन्य स–साना प्रवेश मार्गबाट दिनहुँ भारतीय नागरिक नेपालमा आइनै रहेका छन् । जसलाई अहिलेसम्म नेपालले रोक्न सकेको छैन । भारतीय नागरिकले नेपालका सीमा नजिकका जिल्लामा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । त्यसरी खेती गर्ने बहानामा राति राति भारतीय नागरिक नेपाल आइरहेको समाचार आइरहेका छन् । यसले गर्दा देश जति दिन लकडाउनमा भए पनि भारतीय नागरिकलाई सजिलै प्रवेश दिइरहने हो भने नेपालमा जोखिम कायमै रहने देखिन्छ ।

नेपालमा अहिलेसम्म नौजना संक्रमित भएका छन् । त्यसमध्ये एकजना निको भएर फर्किसकेका छन् । आठजनाको स्थिति पनि सामान्य रहेको छ । अहिलेसम्म २८ सय जतिको कोरोना परीक्षण भएको र सबै नेगेटिभ आएकाले नेपाल तुलनात्मक रूपमा सुरक्षित नै रहेको मान्नुपर्छ । तर, सुदूरपश्चिममा भारतबाट आएका ६५ हजारभन्दा बढी मानिसका कारण स्थिति अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । उनीहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण नगर्दासम्म नेपालको अवस्था जोखिममै रहेकाले लकडाउन नै प्रभावकारी माध्यम भएको डब्लूएचओको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here