तारा एयर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव आफन्तलाई बुझाइयाे

90

काठमाडौं  । तारा एयर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव आफन्तलाई बुझाइएको छ।  त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम पछि बिहीबार २० जनाको शव आफन्तलाई बुझाइएको महाराजगन्ज प्रहरी वृत्त प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिए।  दुई जना जर्मन नागरिकको भने शव अस्पतालमै छ। उनीहरुको शव काठमाडौंस्थित जर्मन दूतावासले जिम्मा लिनेछ।

चालक दलका तीन सदस्य, १३ जना नेपाली यात्रु र ४ जना भारतीय यात्रुको शव भने आफन्तले जिम्मा लिएका हुन्। केही शवको पहिचान गर्न समय लागेकाले आफन्तको जिम्मा लगाउन ढिलाइ भएको हो।  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज गत आइतबार मुस्ताङको थसाङमा दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव सोमबार र १२ जनाको मंगलबार हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।  क्षतविक्षत अवस्थामा रहेका शवको पहिचान स्केचबाट गरिएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here