काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका ९९ वर्षीय दोस्रो विश्व युद्धका सिपाही अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना भाइरस मुक्त भएको खुसीयालीमा त्यहाँका नर्सहरुले उनलाई ताली बजाएर बिदाई गरेका थिए । अल्बर्ट च्याम्वर्स जुलाईमा १०० वर्ष पुग्दैछन् ।
उनी दक्षिण बेलायतको डोनकास्टरस्थित टिक्खिल रोड अस्पतालबाट कोभिड–१९ को उपचारपश्चात हिजो शुक्रबार घर फर्किएका छन् । च्याम्बर्स तीन हप्ता अघि लडेर नाडीमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए । उनलाई सोही क्रममा कोभिड–१९ को लक्षण देखापरेको थियो । उनी अस्पतालमा उपचारपश्चात निको भए र त्यस क्षणलाई भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । भिडियोमा च्याम्बर्सले नर्सहरुलाई धन्यवाद दिएका छन् ।
उनी दुई दशकअघि आफ्नी श्रीमतीको निधनपश्चात एक्लै रहँदै आएका थिए । उनका ४९ वर्षका नाति स्टेफन गेटरले भने, ‘हजुरबुबालाई कोभिड–१९ को संक्रमण भएको खबरले मर्माहत भयौं तर हामीलाई हाम्रा हजुरबुबा धैर्यवान हुनहुन्छ भन्ने थाहा थियो ।’
उनले दोस्रो विश्व युद्धमा हजुरबुबा बेलायती सेनाका सिपाही भएको र उत्तर अफ्रिकाको बम विष्फोटमा घाइते भएपछि उनलाई उत्तरपश्चिम जर्मनी पुर्याइएको जहाँ उनले तीन वर्ष युद्ध बन्दीको जीवन बिताएको बताए । युद्धपश्चात च्याम्बर्स लण्डनको शाही दरबारमा सिपाहीका रुपमा काम गरेका थिए ।


















