काठमाडौं – कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलोपटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व भीडभाड नगरी मनाउने निर्णय गरेसँगै ऐतिहासिक जिब्रो छेड्ने जात्रा पनि स्थगित भएको हो ।
यस वर्ष जिब्रो छेड्ने जात्रा नहुने र महालक्ष्मी मन्दिर परिसरमा लिङ्गो पनि नउभिने जानकारी सबै गुठीयारलाई दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । मेयर श्रेष्ठका अनुसार, देवदेवीलाई घरभित्रै विधिविधान पुर्याएर पूजा गर्न भनिएको छ ।
वर्षैंदेखि जिब्रो छेडेर जात्रा धान्दै आएका व्यक्तिहरु भने भीडभाड नगरी जात्रा सञ्चालन गर्नुपर्ने तर्क राख्दै एक वर्ष जात्रा रोक्दा पछिल्ला वर्षहरुमा पनि रोकिएर लोप हुने अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्छन् । ८ वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका बोडेका जुजुभाइ बाँस श्रेष्ठ कोरोना भाइरसको त्रासका कारण यस वर्ष विश्व प्रसिद्ध जात्रा नै रोक्नुपर्ने अवस्था आउनु आफ्ना लागि पीडादायिक भएको जनाउँछ्न् ।
‘जिब्रो छेडेर टोलटोल घुम्ने यो जात्रा बोडेको मात्र होइन देशको एक विश्व प्रसिद्ध जात्रा हो, यो जात्रा कुनै हालतमा रोक्नु हुँदैन भनेर पुर्खादेखि हामीले पनि निरन्तर चलाउँदै आएका छौ,’ जुजुभाइले भने, ‘तर यस वर्ष जात्रा रोकिने भयो, अब पछिल्ला वर्षमा पनि रोकिएला कि भन्ने चिन्ता लाग्न थालेको छ ।’ रासस

















