काठमाडौं – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)विधिबाट कोरोना संक्रमण परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि विगत २ दिनदेखि सनसिटी अपार्टमेन्टको अवस्था त्रसित बनेको थियो ।
बुधबार विहान साढे नौ बजेबाट र्यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।
ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
सो अपार्टमेन्टको ए ब्लगमा बस्ने एकैपरिवारका २ जनामा कोरोना संक्रमण देखिएपछि सो ब्लग र आसपासका अन्य टावर तथा ब्लगका ४०० बढी परिवार त्रसित बनेका थिए ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
रिपोर्ट परीक्षण भइरहेको स्थलमा सबैको रिपोर्ट नेगेटिभ आएपछि केहीबेर नाचगान चल्यो । मानिसहरुले खुशीले सिठ्ठी फूकेका थिए । कतिपयले ताली पड्काए, थाल ठटाए, मादल बजाए । एउटा ठूलो युद्ध जितेजस्तो, एउटा ठूलो लडाईमा सफल भएजस्तो माहोल देखिएको थियो

















