काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फ्रेन्समार्फत सबै विश्वविद्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो । त्यही बेला मन्त्री पोखरेलले मन्त्रालयमा आ–आफ्नो पढाइ शुरू गर्ने योजनासहित प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको थियो । लगत्तै मन्त्रालयमा सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको थियो ।
मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव रामशरण सापकोटाले सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको र सोहीअनुसार काम शुरू गरिसकेको जानकारी गराउनुभयो ।


















