काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् ।
दुई देशका राष्ट्रपतिबीचको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीको विषयमा समेत कुराकानी भएको प्रेस विज्ञप्तिमा राखिनु आफैमा एउटा सन्देश हो । अहिले प्रधानमन्त्री ओलीको सत्ता संकट गरिरिदै जाँदा उनलाई चीनको दरिलो साथ रहेको सन्देश दिन खोजिएको छ । राष्ट्रपति सीले ओलीको स्वास्थ्य राम्रो होस् भनी कामना गर्दै खुशी व्यक्त गरिएको भनिएको छ ।
विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे पनि छलफल गरेकी थिइन् । उनले चीनको साथ र सहयोगको आग्रह गरेको बुझिएको छ । चीनबाट ओलीलाई अझ बलियो साथ मिल्ने आवश्वासन आएको बुझिएको छ ।
यसैगरी, राष्ट्रपति भण्डारीले अन्य शक्तिसँग पनि ओली सरकारका लागि सहयोगको आग्रह गरेको बुझिएको छ । उनको सक्रियताले ओली हौसिएका छन् । ओलीले यसै हप्ता राष्ट्रपति भण्डारीसँग शितलनिवास पुगेर छलफल गर्न थालेका छन् ।


















