एजेन्सी – पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पार्दै अघि बढेपछि रुस नयाँ इपिसेन्टरका रुपमा देखिएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगेको जनाए ।
देशभर मे ११ सम्मका लागि काम गर्न नपाइने नियम लगाइएको छ भने मार्च ३० देखि राजधानी मस्कोका एक करोड २० लाख मानिसलाई अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरिएको छ ।
रूसमा अहिले दैनिक एक लाख ५० हजार मानिसको कोरोना परीक्षण भइरहेको दाबी पुटिनले गरेका छन् । त्यहाँ हालसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको जनाइएकाे छ ।
विश्वभर ११ लाख ५३ हजार बढी कोरोना संक्रमित उपचारपछि निको
विश्वभर कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमितमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
अहिलेसम्म कोरोना संक्रमित ३५ लाख ६२ हजार २६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।
यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना संक्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कोरोना संक्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार ३५० भन्दा धेरैको ज्यान गएको छ ।

















