पुनः बन्द भयाे देशकाे पहिलो अनलाइन नेपालन्यूज

111

काठमाडौं- नेपालको पहिलो अनलाइन न्युजपोर्टल ‘नेपालन्युज  डटकम’ पुन: बन्द भएको छ। व्यवस्थापनले वैशाख २० गतेसम्मको पारिश्रमिकसहित ‘ थप दुई महिनाको तलब’  दिएर सम्पूर्ण कर्मचारी र पत्रकारलाई सोमबारदेखि विदा गरेको छ।

यसअघि आइतबार ब्यवस्थापन र पत्रकार तथा कर्मचारीबीच सहमति भएको थियो। व्यवस्थापनले थप दुई महिनाको तलब दिने बताएपछि पत्रकारहरु ‘ राजी’ भएका थिए। दुई सातायता व्यवस्थापनले अनलाइन बन्द गर्नेबारे चर्चा चलाए पनि पत्रकारहरु अनलाइन बन्द गर्न नहुने पक्षमा देखिएका थिए।

नेपाल न्युज अनलाइन प्रकाशक नेपाल न्युज प्रालिका महाप्रबन्धक भीम राईले कोरोना भाइरसका कारण व्यवसाय चौपट भएको र ५/६ महिनासम्म तलब खुवाउन नसक्ने अवस्था आउने भन्दै त्यो भन्दा बन्द गर्नु उत्तम हुने बताएपछि सहमतिको प्याकेजका लागि छलफल भएको त्यहाँ कार्यरत एक पत्रकारले भने ।

नेपाल न्युज डटकममा पत्रकार र कर्मचारीसहित काठमाडौँमा मात्र २१ जना कार्यरत थिए भने उपत्यकाबाहिरबाट ८ जनाले काम गरिरहेका थिए। सन् १९९८ बाट सुरु भएको नेपाल न्युज डटकम कुनै समय निकै लोकप्रिय नेपाली अनलाइन न्युज पोर्टल थियो। कर्मचारी-व्यवस्थापन विवादपछि सन् २०११ मा यो बन्द भएको थियो। त्यतिबेला यो अंग्रेजी भाषामा प्रकाशित हुन्थ्यो।

यति समूहको लगानी रहेको नेपाल न्युज प्रालिले मर्केन्टाइलसँग खरिद गरि नेपाल न्युज डटकम २०७६ साल जेठ १५ गतेदेखि प्रकाशनमा ल्याएको थियो। नेपाल न्युज डटकम पुन: प्रकाशन  हुँदा नेपाली भाषाको थियो।

व्यवस्थापन र पत्रकारबीच विवाद भएपछि गत मंसिरमा तत्कालीन सम्पादक सुन्दर खनालसहित ९ जना पत्रकारले एकसाथ नेपाल न्युज डटकम छाडेका थिए। त्यतिबेला संस्था छाडेका पत्रकारलाई व्यवस्थापनले अतिरिक्त दुई महिनाको तलब दिइएको थियो। व्यवस्थापनले परिस्थिति सहज भए अनलाइन पुन सन्चालनमा आउने तर त्यो कहिले भन्नेबारे स्पष्ट नगरेको ‘विदा’ पाएका एक पत्रकारले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here