काठमाडौँ । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

आइतबार संकलन गरिएका स्वाबमध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको उनले जनाए।

खजुरा गाउँपालिकाका सबै नाका बन्द

बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ । सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।खजुराले स्थानीय तहभित्रका वडा पनि सिल गरेको छ । उसले वडा नम्बर ५, ६, ७ र ८ लाई पनि लक गरेको छ ।

स्वास्थ्य टोली र उपकरण पठाउन माग

कोरोना संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षण किट पठाउन, उपकरण र प्राविधिक टोली पठाउन र नेपालगन्जवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

सांसद पूर्णाकुमारी सुवेदी, बाँके(२ का सांसद मोहम्मद इस्तियाक राई, बाँके ३ का सांसद नन्दलाल रोकाया, अर्का सांसद सर्वतआरा खानले स्वास्थ्यमन्त्री ढकाललाई मन्त्रालयमै पुगेर भेट गरी माग राखेका हुन् । भेटमा स्वास्थ्यमन्त्री ढकालले दुई सय ५० थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भइरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here